भर्ना अभियान सुरु पठनपाठन अन्योल
नयाँ शैक्षिक सत्र सुरू भएको छ । मंगलवारदेखि शैक्षिक सत्रसँगै भर्ना अभियान सुरू भए पनि पढाइ भने तत्काल नहुने भएको छ । कोरोना महामारीको जोखिम कायम रहेकोले विद्यार्थीलाई भौतिक उपस्थितिमा पठनपाठन गराउन अझै केही समय लाग्ने भएको हो । कर्णाली प्रदेशमा पनि विद्यालय खुल्ने÷नखुल्ने अन्योलताकाबीच विद्यार्थी भर्ना अभियान थालिएको छ । प्रदेशका सबै स्थानीय तहका सामुदायिक विद्यालयहरूले विद्यार्थी भर्ना सुरू गरेका छन् ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दिएको निर्देशनअनुसार भर्ना अभियान थालिए पनि कुन माध्यमबाट विद्यार्थीलाई अध्यापन गराउने भन्ने विषयमा विद्यालयहरू अन्योलमा छन् । भेरी माध्यामिक विद्यालय बराहताल–२ सुर्खेतका प्रधानाध्यापक रत्नबहादुर बुढाले विद्यार्थी भर्ना सुरू गरिएको जनाए । उनकाअनुसार पढनपाठन कसरी गर्ने भन्नेबारे टुङ्गो लागेको छैन । ‘भर्ना त गरियो । पढाउने कसरी भनेर अन्योल कायमै छ,’ उनले भने ।
विद्यालयमा समेत इन्टरनेटको सुविधा नभएका अनलाइन कक्षा सञ्चालनमा सम्भव नभएको उनले बताए । ‘हामीसँग विद्यालयमै इन्टरनेट सेवा छैन,’ प्रधानाध्यापक बुढाले भने, ‘सबै विद्यार्थीको पहुँच हुने त झन् कुरै भएन ।’ असारको महिनाभरी भर्ना अभियान र पाठ्यक्रम वितरण गर्ने तथा साउनबाट कक्षा सञ्चालन गर्न मनत्रालयले निर्देशन गरेको उनले बताए । मंगलवार भर्ना अभियान सुरू भएकै दिन भेरी माध्यामिक विद्यालयमा सात जना विद्यार्थी भर्ना भएका छन् ।
यस्तै, दैलेखको नारायण नगरपालिका–८ स्थित सरस्वती माध्यामिक विद्यालयका प्राधानाध्यापक जीवराज तिमिल्सिनाले पहिलो चरणमा अनलाइबाटै अध्यापन गराउने तयारी गरिएको जनाए । ‘कोरोना नियन्त्रणमा आएपछि मात्र विद्यार्थीलाई भौतिक रूपमा विद्यालयमा उपस्थित गराएर पढाइने उनी बताउँछन् । ‘तत्कालका लागि अनलाइन कक्षा पढाउनुको विकल्प छैन । भर्ना हुन आएका विद्यार्थीहरूलाई पाठ्यपुस्तक समेत वितरण गरिएको उनले बताए । प्रध्यानाध्यापक तिमिल्सिनाका उनकाअनुसार मंगलवार २० जना विद्यार्थीले भर्ना भर्ना भएका छ ।
कर्णालीका अधिकांश स्थानीय तहमा विद्युत तथा इन्टरनेटको पुहँचमा नहुँदा अनलाइन कक्षा प्रभावकारी नहुने शिक्षा क्षेत्रका जानकारहरूले बताएका छन् । गत वर्षको अनुभवबाट पनि अनलाइन कक्षा सबैको पहुँचमा नभएको प्रष्ट भएको उनीहरूको भनाइ छ । जसका कारण अहिले भर्ना लिए पनि अधिकांश विद्यालयले कोरोना नियन्त्रणमा आएपछि मात्र पढनपाठन सुरू हुने बताएका छन् । शिक्षा विकास निर्देशनालयका नि. निर्देशक दीपा हमालले कर्णालीका सबै स्थानीय तहमा भर्ना अभियान सुरू भइसकेको बताइन् । ‘सम्बन्धीत स्थानीय तहहरूले विद्यालयलाई भर्ना अभियान सञ्चालन गर्न निर्देशन गरिसकेका छन्,’ उनले भनिन्, ‘अहिले तत्कालका लागि वैकल्पिक विधिबाटै अध्यापन गराउनुपर्नेमा जोड दिइएको छ ।’ शैक्षिक सामग्रीका लागि सबै विद्यालयहरूमा रकम निकाशाको काम भइसकेको भन्दै हमालले पाठ्यपुस्तकहरू बजारमा समेत उपलब्ध भइसकेको जनाइन् ।
साधारणतया वैशाख १ देखि नयाँ शैक्षिक सत्र सञ्चालन हुने गरेकोमा कोरोना महामारीले गर्दा यो वर्ष असार १ देखि सुरू गरिएको छ । विद्यालयहरूलाई विद्यार्थी भर्ना गरेर अनलाइन लगायतका वैकल्पिक माध्यमबाट शैक्षिक कार्यक्रम अगाडि बढाउन मन्त्रालयले निर्देशन गरेको छ ।
प्रकाशित मितिः २ असार २०७८, बुधबार १०:५१
साझा बिसौनी ।