पहिरोले राजमार्ग अवरुद्ध

अविरल वर्षापछि आएको पहिरोले कर्णाली राजमार्ग अवरूद्ध भएको छ । राजमार्गको सुर्खेत–जुम्ला सडकको ठाउँ ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो । कालीकोटका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यका अनुसार दैलेखको किटु, कालीकोटको गगनेखोला, हुल्म, पिली सेराबाडा, खल्लागाड र भिग्ममा पहिरो खसेको हो । केही ठाउँमा सोमवार पहिरो पन्छाए पनि वर्षा नरोकिएकोले पुनः अवरुद्ध भएको प्रजिअ आचार्यले बताए ।

पहिरो खस्ने जोखिमलाई मध्यनजर गरेर कर्णाली राजमार्गमा रातीको समयमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।

पहिरोले सडक अवरुद्ध हुँदा यात्रुहरूलाई सास्ती भएको छ । कालीकोट, जुम्ला र मुगुका लागि दैनिक उपभोग्य सामान र निर्माण सामग्री बोकेर गएका गाडी समेत बाटोमा रोकिएका छन् । वर्षा भइरहेकाले पहिरो पन्छाउन कठिन भएको बताइएको छ । यात्रुहरूका अनुसार राजमार्गको दर्जनौं ठाउँमा सानो ठूलो पहिरो गएको छ ।

यसैबीच, मनसुन सुरू भइसकेकाले पहिरो खस्ने जोखिमलाई मध्यनजर गरेर कर्णाली राजमार्गमा रातीको समयमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्र (डिईओसी) सुर्खेतले (सुर्खेत–जुम्ला) सडक खण्डमा साँझ ७ बजेपछि र बिहान ५ बजेभन्दा अगाडि सवारी साधन सञ्चालन नगर्न भनेको छ ।

प्रकाशित मितिः   २ असार २०७८, बुधबार १०:५०