मुख्यमन्त्रीलाई भेटेर खाद्यान्न माग

राउटे समुदायले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई भेटेर खाद्यान्न माग गरेका छन् । राउटे मुखियासहितको टोली शुक्रवार मुख्यमन्त्री कार्यालयमा पुगेको थियो । खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तु माग गर्न राउटेहरू मुख्यमन्त्रीलाई भेट्न आएका हुन् ।

‘जंगलमा सिकार पाइँदैन । जनताहरू भोक–भोकै छन् । राउटे मुखिया सूर्यनारायण शाहीले भने, ‘सरकारले हामीलाई तत्काल खाद्यान्नको व्यवस्था गरिदिनुप¥यो ।’ उनीहरूले त्रिपाल, लगायत लत्ता कपडाको पनि व्यवस्था गरीदिन मुख्यमन्त्रीलाई आग्रह गरेका छन् । वर्षात्को समय सुरू हुन लागेका कारण राउटेले त्रिपाललगायतका बन्दोबस्तका सामग्री माग गरेका हुन् ।

भेटपछि मुख्यमन्त्री शाहीले खाद्यान्न, लत्ताकपडा, त्रिपाललगायत सामानहरू बन्दोबस्त गरिदिने आवश्वासन दिए । सामाजिक विकासमन्त्री यज्ञबहादुर बिसीले हप्ता दिनभित्र राउटे समुदायका माग सम्बोधन हुने बताए । फिरन्ते राउटे समुदाय हाल गुर्भाकोट–११ स्थित आँपसोतीमा बस्दै आएका छन् । यहाँ राउटे समुदायमा ३६ घरपरिवारका एक सय ४५ जना छन् ।

प्रकाशित मितिः   २९ जेष्ठ २०७८, शनिबार ०५:०१