राउटे युवतीमाथि यौन दुव्र्यवहार घटनाः जबरजस्ती करणीमा मुद्दा दायर

राउटे युवतीलाई यौन दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेकाहरूलाई जबरजस्ती करणीमा मुद्दा दायरा भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतमा पीडकविरुद्ध मुद्दा दायर गरिएको हो । आवाज संस्था सुर्खेतले पीडकविरुद्ध जबरजस्ती करणीमा किटानी जाहेरी दिएको छ । किटानी जाहेरी पश्चात पहिलो पटक पाँच दिन म्याद थप गरी अनुसन्धान थालिएको डीएसपी रामप्रसाद घर्तीले जनाए । उनकाअनुसार प्रहरीले म्याद थप गरी घटनाबारे अनुसन्धान थालेको छ ।

आवाज संस्था सुर्खेतले घटनाको जानकारी पाउनासाथ किटानी जाहेरी दिएको निर्देशक पवित्रा शाहीले बताइन् । पीडित युवतीहरूको न्यायको लागि आवाजले किटानी जाहेरी दिएको हो । शनिवार राती गुर्भाकोट नगरपालिकाको एक होटेलमा सोही स्थानका तीन जना युवाले राउटे समुदायकी दुई युवतीलाई मदिरा खुवाएर यौनशोषण गरेको भिडियो सार्वजनिक गरेका थिए । भिडियो भाइरल भएको भोलिपल्ट आइतवार प्रहरीले गुर्भाकोटस्थित मेहेलकुना होटलका सञ्चालक २९ वर्षीय मानबहादुर पुन, गुर्भाकोट–९ का ३५ वर्षीय चोमनबहादुर घर्ती र २४ वर्षीय भुपेन्द्र बुढालाई पक्राउ गरेको थियो । ती तीन जनाविरुद्ध आवाजले किटानी जाहेरी दिएको हो ।

राउटेहरू गुर्भाकोट नगरपालिका–११ आँपसोतीमा बस्दै आएका थिए । उक्त घटनापछि सोमवार आँपसोतीबाट बसाइँ सरेर वडा नं. ९ बोटेचौरस्थित भेरी किनारामा गएका छन् । राउटे बस्तीमा अहिले सुरक्षा व्यवस्था कडा पारिएको छ । बस्तीमा अन्य समुदायका मानिसलाई प्रवेश गर्न दिइएको छैन ।

यसैबीच, घटनाको विषयमा स्थलगत अनुगमनको लागि राष्ट्रिय मानवअधिकार आयोग जुम्ला शाखाको टोली सुर्खेत आइपुगेको छ । बुधवार (आज)राउटे बस्तीमा पुगी टोलीले घटनाकोबारेमा अनुगमन गर्ने छ । आयोग जुम्ला शाखाका प्रमुखसहित चार जनाको टोली राउटे बस्तीमा स्थलगत अनुगमनका लागि आएको हो ।

प्रकाशित मितिः   २६ जेष्ठ २०७८, बुधबार ०५:००