थपियो निषेधाज्ञा

कोरोना भाइरस (कोभिड–१९) संक्रमण नियन्त्रणका लागि सुर्खेतमा जारी निषेधाज्ञा पुनः थप गरिएको छ । वैशाख १४ गते जारी निषेधाज्ञा जेठ ३१ गतेसम्मका लागि लम्ब्याइएको हो । हाल कोरोना संक्रमणको दरमा कमी आए पनि जोखिम कायमै रहेकाले जेठ मसान्तसम्म निषेधाज्ञालाई निरन्तरता दिइने भएको हो । कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार सेवालाई व्यवस्थित गर्नका लागि निषेधाज्ञा अवधि बढाइएको स्थानीय प्रशासनले जनाएको छ ।

सोमवार बसेको कोभिड व्यवस्थापन समितिको बैठकले जेठ ३१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा गर्ने निर्णय छ । कोरोना संक्रमणको जोखिम अझै कम नभएकाले निषेधाज्ञा थपिएको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताए । यसअघि २५ गते (आज) राति १२ बजेसम्मका लागि निषेधाज्ञा गरिएको थियो । संक्रमणको जोखिम कम गर्न स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्न÷गराउन सबैले आफ्नो संयन्त्रलाई परिचालन गरी सहयोग र समन्वय गर्न पनि स्थानीय प्रशासनले आह्वान गरेको छ । कर्णालीमा हालसम्म सबैभन्दा धेरै कोरोना संक्रमित सुर्खेतमा पुष्टि भएका छन् । यहाँ अहिले पनि एक हजार पाँच सय बढी सक्रिय संक्रमित छन् ।

प्रकाशित मितिः   २५ जेष्ठ २०७८, मंगलवार ०५:०२