मन्त्रीलाई कांग्रेसको आचारसंहिता

नेपाली कांग्रेस कर्णाली प्रदेशसभा संसदीय दलले प्रदेश सरकारमा सामेल हुने आफ्ना मन्त्रीहरूका लागि आचारसंहिता बनाएको छ । सरकारमा सहभागी हुने मन्त्रीहरूका लागि कांग्रेसले १३ बुँदे आचारसंहिता जारी गरेको हो । आचारसंहितामा भ्रष्टाचारमा शून्य सहनशीलताको नीतिलाई अवलम्बन गर्ने, आर्थिक अनुशासन, सादा जीवनशैली अपनाउने, स्वच्छता, मितव्ययिता, दान, उपहार, पुरस्कार, चन्दा वा निजी सेवा, सुविधा, लाभ र अस्वाभाविक निमन्त्रणालाई स्वीकार गर्न नपाइने उल्लेख छ । सरकारले सहभागी हुन लागेका मन्त्रीहरूका लागि दलले आचारसंहिता जारी गरेको कांग्रेस सांसद हिमबहादुर शाहीले जानकारी दिए । मन्त्रालयसँग प्रत्यक्ष सरोकार राख्ने विषयमा कोही कसैसँग व्यावसायिक साझेदार, सहयोगी बन्न तथा व्यवसाय गर्दा गर्न पार्टीले प्रतिबन्ध लगाएको उनले बताए ।

कांग्रेस संसदीय दलले सामाजिक विकासमन्त्रीमा सुर्खेतका यज्ञबहादुर बिसी र जलस्रोत तथा ऊर्जा विकासमन्त्रीमा जुम्लाका दिनबन्धु श्रेष्ठ पठाउने निर्णय गरेको छ । कांग्रेसबाट मन्त्री भएका बिसी र श्रेष्ठको आज ‐आइतवार) नियुक्ति र पद तथा गोपनियताको शपथग्रहण हुने बताइएको छ । नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि चैत अन्तिम साता कांग्रेस र माओवादी केन्द्रबीच सत्ता साझेदारी गर्ने सहमति भएको थियो । त्यसकै आधारमा वैशाख ३ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई कांग्रेसले विश्वासको मत दिएको थियो ।

प्रकाशित मितिः   २३ जेष्ठ २०७८, आईतवार ०५:००