स्वावलम्बनका सदस्यलाई राहत प्याकेज

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले विपन्न परिवारका लागि खाद्यान्न लगायतको राहत प्याकेट सञ्चालन गरेको छ । संस्थाको सुर्खेत शाखाले कोरोना भाइरस (कोभिड–१९) का कारण रोजगारी गुमाएर छाक टार्न समस्या भएका परिवारलाई राहत स्वरूप खाद्यान्न तथा नगद वितरण गरेको हो । संस्थाले आफ्ना सदस्यहरूलाई चामल, दाल, तेल, नुन, सावुन लगायतका खाद्यान्न तथा दैनिक उपभोग्य सामान सहयोग गरेको छ । शाखा कार्यालय वीरेन्द्रनगरबाट अहिलेसम्म २१ जना सदस्यलाई उक्त राहत वितरण गरिएको जनाइएको छ ।

साथै संस्थाले कोभिड संक्रमण भइ आइसोलेसनमा रहेका व्यक्तिहरूलाई पौष्टिक आहारका लागि नगद एक हजार पाँच सय समेत सहयोग गर्दै आएको छ । अस्पतालमा उपचार गराउनुपर्ने संक्रमित बिरामीको हकमा अवस्था हेरी जनही १० हजार रूपैयाँसम्म सहयोग उपलब्ध गराइएको सुर्खेत शाखा प्रमुख पवन सुवेदीले जानकारी दिए । उनका अनुसार कोभिड संक्रमणका कारण सदस्यको मृत्यु भएमा परिवारलाई पाँच हजार राहत तथा कुनै महिला सदस्यको श्रीमानको मृत्यु भएमा १० हजार रूपैयाँ उपलब्ध गराउने गरिएको छ । संस्थाले हाल जिल्लाका वीरेन्द्रनगर र भेरीगंगा नगरपालिकामा लघुवित्त कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।

प्रकाशित मितिः   २२ जेष्ठ २०७८, शनिबार ०५:००