कर्णालीको बजेट अधिवेशन आह्वान

कर्णाली प्रदेशसभाको बजेट अधिवेशन आह्वान गरिएको छ । सरकारको सिफारिसमा शुक्रवार प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले जेठ २४ गतेका लागि वर्षे अधिवेशन आह्वान गरेका हुन् । प्रदेशसभाको आठौं (बजेट) अधिवेशन २४ गते दिनको २ बजेका लागि बोलाइएको हो ।

कर्णाली सरकारले यसपटक बजेट अधिवेशन डाक्न विलम्ब गरेको छ । संवैधानिक व्यवस्थाअनुसार प्रदेश सरकारले असार १ गते आगामी वर्षको नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरिसक्नुपर्छ । ढिलागरी अधिवेशन आह्वान गर्दा नीति तथा कार्यक्रममाथि पर्याप्त छलफल गर्ने समय नहुने देखिएको छ । बिहीवार सभामुख राजबहादुर शाहीको अध्यक्षतामा बसेको सर्वदलीय बैठकमा मुख्यमन्त्री शाहीले एक÷दुई दिनभित्रमा बजेट अधिवेशन आह्वानका लागि सिफारिस गर्ने प्रतिबद्धता जनाएका थिए ।

यसअघि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सरकारलाई अधिवेशन तत्काल बोलाउन माग गरेको थियो । प्रदेशसभा नियमावलीको कानुनी व्यवस्थाअनुसार बजेट ल्याउनुभन्दा १५ दिनअगावै प्रि–बजेट छलफलका लागि प्रदेशसभाको बैठक आह्वान नगरेको भन्दै विपक्षी दलहरूले सरकारलाई दबाब दिँदै आएका थिए ।

प्रकाशित मितिः   २१ जेष्ठ २०७८, शुक्रबार १६:०३