मन्त्रिमण्डल विस्तारको तयारी

कर्णालीमा मन्त्रिपरिषद् विस्तार गरिने भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नेपाली कांग्रेसलाई पनि सरकारमा सहभागी गराएर मन्त्रिमण्डल हेरफेर गर्न लागेका हुन् । माओवादी केन्द्रको सरकारलाई विश्वासको मत दिएको कांग्रेस झन्डै दुई महिनापछि दुई मन्त्रालय लिएर सरकारमा जान लागेको हो । गएको वैशाख ३ गते कांग्रेसले मुख्यमन्त्री शाहीले संसद्मा पेस गरेको विश्वास प्रस्तावको पक्षमा मतदान गरेको थियो । संसद्मा अंक गणितीय हिसाबले निकै कमजोर शाहीले कांगे्रसको साथ पाएपछि सत्ता लम्ब्याएका थिए ।

लामो समय राम्रो मन्त्रालयका लागि ‘बार्गेनिङ’ गरेको कांग्रेसले पछिल्लो समय सामाजिक विकास मन्त्रालयबाट अलग्याएर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा गाभिएको युवा तथा खेलकुद कार्यक्षेत्रलाई सामाजिकमै ल्याउनुपर्ने शर्त राखेको थियो । सरकारलाई सकारात्मक ढङ्गले अगाडि बढाउन सरकारमा जान लागेको कांग्रेसले बताएको छ ।

‘अब हामी सरकारमा सहभागी हुन्छौं,’ कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही भन्छन्, ‘महामारीका बेला सरकारका काम प्रभावकारी बनाउन सरकारमा जान लागेका हौं ।’ उनका अनुसार कांग्रेसले दुई वटा मन्त्रालय लिनेछ । कांग्रेसको भागमा परेको सामाजिक विकास मन्त्रालयमा यज्ञबहादुर बीसी र जलस्रोत तथा उर्जा विकास मन्त्रालयमा दीनबन्धु श्रेष्ठलाई पठाउने तयारी छ । मुख्यमन्त्री कार्यालय स्रोतका यी दुई जनालाई आज (शुक्रवार) मन्त्रीको शपथ ग्रहण गराइनेछ ।

माओवादी नेतृत्वको सरकारलाई विश्वासको मत दिएलगत्तै सरकारमा जाने सहमति भए पनि कांग्रेसले अहिलेसम्म सत्तारोहण गरेको थिएन । मुख्यमन्त्रीले पछिल्लो समय मन्त्रालयको संख्या थपेर सात पु¥याएका छन् । मन्त्रालयको संख्या नै बढाउँदा पनि आफूहरूलाई एउटा मात्र दिन खोजिएको भन्दै कांग्रेस असन्तुष्ट बन्दै आएको थियो । पछिल्लो सहमतिअनुसार दुई वटा मन्त्रालय पाउने र युवा तथा खेलकुद कार्यक्षेत्रलाई सामाजिकमै राख्न मुख्यमन्त्री सहमत भएपछि कांगे्रस सरकारमा जान मन्जुर भएको छ । कर्णाली प्रदेश सरकारमा हाल माओवादी केन्द्रबाट मुख्यमन्त्रीसहित तीन जना र एमालेबाट ‘फ्लोर क्रस’ गरेर मुख्यमन्त्रीलाई विश्वासको मत दिएका तीन जना मन्त्री छन् ।

प्रकाशित मितिः   २१ जेष्ठ २०७८, शुक्रबार ०५:००