परीक्षणको दायरा

कर्णाली प्रदेशमा पछिल्लो समय कोरोना भाइरस (कोभिड–१९)को संक्रमणदर घट्दै गएको बताइएको छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार जेठ पहिलो सातायता नयाँ संक्रमण हुने दर घटेको छ भने संक्रमितहरू निको हुने दर बढ्दै गएको छ । विश्वव्यापारी महामारीका रूपमा फैलिएको कोरोना संक्रमणको दर घट्दै जानु आफैमा सकारात्मक संकेत हो । यसले संक्रमण नियन्त्रण हुँदै गएको देखाउँछ । बरु निको हुने बढ्दै गएको देखिन्छ । तथ्यांक हेर्दा सकारात्मक संकेत देखा पर्दछन् । तर सँगसँगै परीक्षण दर के कस्तो छ भन्ने कुरालाई पनि हेर्नुपर्ने हुन्छ । संक्रमित घटेका हुन् या परीक्षण पनि घटेको हो भन्ने कुराको तालमेल अपरिहार्य छ ।

कोरोना संक्रमण समुदायस्तरमा फैलिइसकेको छ । स्थानीय प्रशासनले संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भनेर लामो समयदेखि निषेधाज्ञा गरेको छ । तर यसको प्रभाव सहरबजारमा भए पनि ग्रामीण क्षेत्रमा छैन । ग्रामीण क्षेत्रको जनजीवन सामान्य छ । आवश्यक मापदण्डको पालना कडाइका साथ पालना भएको छैन । जसले गर्दा जोखिम घटेको छैन । कोरोना अत्यधिक मात्रामा फैलनुमा पनि मानिसहरूको अत्यधिक हेलचक्य्राइँ देखिन्छ । घर बस्दा पनि परिवारमा विनामाक्स बस्ने, सेनिटाइजरको प्रयोग नगर्ने र भौतिक दूरी कायम नगर्ने तथा अनावश्यक रूपमा घरबाट बाहिर जाने गर्दा पनि संक्रमण अत्यधिक मात्रामा फैलँदै गइरहेको अवस्था छ । लक्षण देखिए पनि बेवास्ता गर्ने गरिएको छ । जब रोगले सिकिस्त बनाउँछ अनि मानिसहरू अस्पताल जाने गर्दछन् । रोग पहिचानका लागि परीक्षण अपरिहार्य छ । लक्षण देखा पर्नेबित्तिकै पीसीआर परीक्षण गराउनु जरुरी हुन्छ । यसरी परीक्षण गराउँदा रिपोर्टमा पोजेटिभ देखिए तत्काल छुट्टै आइसोलेसनमा बसी नियमित औषधिको सेवन गर्नुपर्छ र कुनै गम्भीर रोग देखिएमा तत्काल चिकित्सककहाँ गएर जँचाउनुपर्छ । तर गाउँमा परीक्षण पर्याप्त छैन । गम्भीर बिरामीहरूले परीक्षण गराउने गरे पनि सामान्य लक्षण देखिएका बिरामीहरूले परीक्षण गराइरहेका छैनन् ।

नयाँ भेरियन्ट देखा परिसकेको अवस्था छ । कोरानाको दोस्रो भेरियन्ट निकै खतरायुक्त रहेको विज्ञहरूले बताएका छन् । सुरुवातमै उच्च सावधानी नअपनाउँदा र स–सानो लापरवाहीले गर्दा पनि संक्रमण समुदायस्तरमा पुगेको देखिन्छ । स्थानीय तहबाट पनि परीक्षण गर्न त थालिएको छ तर निकै न्यून दरमा । परीक्षणमा सबैको पहुँच पुगेको छैन । परीक्षणको दर बढाउन जरुरी छ । परीक्षण नबढाएसम्म संक्रमण नियन्त्रणमा आएको मान्न सकिँदैन । समुदायमा संक्रमित बढ्दै जाने तर सीमित परीक्षणबाट आएको तथ्यांकलाई आधार मानेर नियन्त्रणमा आएको भन्न थालिए अर्को जोखिम निम्तिने छ । अहिले खोप समेत पर्याप्त छैन । धेरै नागरिकले खोप लगाउन पाएका छैनन् । अब यो महामारी नियन्त्रणका लागि नेपाल सरकार तथा स्थानीय निकायले चाँडोभन्दा चाँडो खोपको व्यवस्था गरी खोप लगाउन सुरु गराउनुपर्छ । महामारी नियन्त्रण गर्न सरकार तथा स्थानीय निकायले गरेको निषेधाज्ञाको समयमा बढीभन्दा बढी कोरोनाको जोखिम भएको ठाउँमा निःशुल्क पीसीआर परीक्षणको दायरालाई बढाउँदै लानुपर्छ ।

प्रकाशित मितिः   १९ जेष्ठ २०७८, बुधबार ०५:००