जिउलोमा मार्सीको मेलो

जुम्ला: कोरोना कहरकाबीच जुम्लाका कृषकलाई मार्सी धान रोप्ने चटारो छ । जिल्लाका पानसय, सिंजा र ग्रज्यांकोट क्षेत्रमा धमाधम रोपाइ भइरहेको छ । जुम्लामा जेठ पहिलो साताबाट मार्सी रोप्न सुरु गरिन्छ । मार्सी धानको बेर्ना भने चैतमै राखिन्छ । ‘जेठमा रोप्ने, असारमा गोडमेल गर्ने र असोज अन्तिम सम्म भिœयाउने कृषि क्यालेण्डर हुन्छ’ तातोपानी गाउँपालिका वडा नं. ७ सर्मीका कृष्ण खड्काले भने । स्वास्थ्य सावधानीका साथ रोपाइ भइरहेको किसानहरू बताउन्छन् । हली र रोपारहरूले मास्क प्रयोग गर्ने र दूरी काम गरेर रोपाइलाई निरन्तरता दिइएको स्थानीय लक्षिमकला रावलले बताइन ।

‘कोरोनाको डर त लाग्छ, तर काम नगरे के खाने ? कृषि कर्म गर्नै प¥यो’ उनले भनिन् । यो बेला सबैतिर रोपारहरूले मागल गाउने हुनाले जीउलो (धानको खेती हुने ठाउँ) मा रौनकता छाएको छ । तातोपानी गाउँपालिकाको गुरूफोक्टोबाट मार्सीधानको खेती सुरु भएको इतिहास छ । अहिले तातोपानी गाउँपालिकाको लाछु ज्युलोमा मार्सीधान मात्रै रोप्ने गरिएको तातोपानी गाउँपालिकाका अध्यक्ष नवराज न्यौपानेले बताए । कृषि विज्ञका अनुसार हुर्कनको लागी धेरै समय लाग्ने र बढी उचाइमा फल्ने हुँदा मार्सी चामलको स्वाद निकै मिठो हुने गर्दछ । जुम्लामा दुई हजार नौ सय हेक्टर क्षेत्रमा धान खेती हुने गरेको कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटाले बताए । एक हजार तीन सय हेक्टर क्षेत्रमा मार्सी धान फल्ने गरेको छ ।

मार्सी चामलको माग पनि बढ्दै गएको छ । चामलको माग बढ्दै गएको स्थानीय व्यापारी रामदेवी रोकायाले बताइन् । जिल्ला बाहिरबाट पुग्ने पर्यटकहरूले जुम्लाको चिनोका रूपमा मार्सी चामल किनेर लैजाने गरेको उनले जानकारी दिइन् । ‘जुम्लाको पहिचान मार्सी चामल बनेको छ, तर पछिल्लो समय विभिन्न रोगले यसको उत्पादनमा गिरावट आएको छ’ कृषक धनबहादुर रावलले भने ।

विगतमा जुम्लाबाट मार्सी चामल तत्कालीन राजा–रजौटालाई पठाउने समेत गरिएको बताइन्छ । यो धानबाली विश्वको सर्वोच्च (दुई हजार आठ सय ५० मिटरको) उचाइमा फल्ने गरेको छ । विश्वको सबै भन्दा बढि उचाइमा धान खेती हुने जुम्लाको पातारासि गाउँपालिकाको छुमचौर जीउलो हो  । मार्सी धानका लागि जुम्लाका किसानको निश्चित समय तालिका छ । उनीहरू प्रत्येक वर्षको चैत १२ गते बीउ केलाउने र भिजाउने, १६ गते सुकाउने र २० गते बेर्नामा छर्ने चलन छ । त्यसपछि जेठ पहिलो साताबाट रोप्ने, असारमा पहिलो साता गोडमेल गर्ने र २० दिनपछि दोस्रो गोडमेल गर्ने प्रचलन छ । यो धान असोज मध्यम साता भिœयाउने गरिन्छ ।

प्रकाशित मितिः   १८ जेष्ठ २०७८, मंगलवार ०५:०१