खाद्यान्न ढुवानी सहज

कोरोना संक्रमण नियन्त्रणका लागि जारी निषेधाज्ञाको समयमा पनि खाद्यान्न ढुवानी सहजरूपमा भइरहेको छ । कर्णाली प्रदेशका विभिन्न जिल्लामा झन्डै आठ हजार क्वीण्टल खाद्यान्न ढुवानी भएको हो । प्रदेशका ६ जिल्लामा खाद्यान्न ढुवानी भइरहेको सुर्खेतस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जनाएको छ । वैशाख १४ गतेदेखि कर्णालीका सबैजसो जिल्लामा निषेधाज्ञा लगाइएको छ । यो अवधिमा पनि खाद्यान्न ढुवानी भने सहजै भइरहेको कम्पनीका प्रबन्धक माधव मिश्रले जानकारी दिए । उनका अनुसार निषेधाज्ञा लागू भएदेखि विभिन्न जिल्लामा आठ हजार एक सय २१ क्वीण्टल खाद्यान्न ढुवानी भइसकेको छ ।

हुम्लामा सबैभन्दा धेरै चार हजार चार सय ९८ क्वीण्टल चामल ढुवानी भएको छ । मुगुमा एक हजार ६ सय १७, डोल्पामा एक हजार चार सय ५४, जुम्लामा एक सय ७० तथा कालीकोट र दैलेखमा ९०÷९० क्वीण्टल खाद्यान्न ढुवानी भएको हो । बाजुरास्थित कोल्टी डिपोमा पनि दुई सय क्वीण्टल खाद्यान्न ढुवानी गरिएको कम्पनीले जनाएको छ । निषेधाज्ञाको अवधिमा पाँच करोड नौ लाख रूपैयाँको खाद्यान्न ढुवानी भएको छ । अहिले प्रदेशभर ५२ हजार दुई सय १६ क्विन्टल खाद्यान्न मौज्दात छ ।

प्रकाशित मितिः   १९ जेष्ठ २०७८, बुधबार ०५:००