एकै दिन पाँच सय बढी संक्रमणमुक्त

कर्णाली प्रदेशमा एकै दिन पाँच सय जनाभन्दा बढी कोरोना संक्रमणमुक्त भएका छन् । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार सोमवार पाँच सय १२ जना कोरोना संक्रमित निको भएका हुन् । अघिल्ला दिनहरूमाजस्तै सोमवार पनि नयाँ कोरोना संक्रमित हुने संख्याभन्दा संक्रमणमुक्त हुनेको दर बढी छ ।

प्रदेशमा थप चार सय २५ जनामा कोरोना संक्रमण पुष्टी भएको निर्देशनालयले जनाएको छ । एक हजार दुई सय १३ जनाको परीक्षण गर्दा उक्त संख्यामा कोरोना संक्रमण देखिएको हो । सुर्खेतमा एक सय ४७, सल्यानमा ५९, रूकुम–पश्चिममा ५८, दैलेखमा ५६, कालीकोटमा ४२, जाजरकोटमा ३८, जुम्लामा १३, मुगुमा १०, हुम्लामा सात, डोल्पामा तीन र अन्य प्रदेशका तर कर्णालीमा रहेका दुई जनामा कोरोना संक्रमण देखिएको हो । योसँगै प्रदेशमा अहिले सक्रिय संक्रमितको संख्या पाँच हजार पाँच सय ३९ रहेको छ । कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु भएसँगै कर्णालीमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या दुई सय ४५ पुगेको छ ।

नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एक सय १४ जनाको ज्यान गएको छ । सोमवार एक सय १४ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसहित नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या सात हजार तीन सय ८६ पुगेको छ ।

यस्तै नेपालभर सोेमवार ६ हजार चार सय ९१ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या चार लाख ४७ हजार चार सय ४६ पुगेको छ । कोरोना संक्रमित नयाँ चार हजार सात सय ६२ जना थपिएका छन् । अहिले नेपालमा एक लाख ६ हजार चार सय ७० जना सक्रिय संंक्रमित छन् । नेपालभर थप एक सय १४ जनाको मृत्यु भएसँगै हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या सात हजार तीन सय ८६ जना पुगेको छ ।

प्रकाशित मितिः   १८ जेष्ठ २०७८, मंगलवार ०५:००