बजेटले दिएको खुसी

सहारा बन्यो सरकार

सीता वली | सुर्खेत: वीरेन्द्रनगर–३ मसुरीखेतका इन्द्रबहादुर खत्री ७४ वर्षका भए । बुढ्यौली लागेसँगै उनको स्वास्थ्यमा समस्या देखिन थाले, उनी प्रायः बिरामी भइरहन्छन् । उपचारको लागि वर्षमा एक–दुई पटक जिल्ला छोड्नैपर्छ । हेरचाह गर्ने र आवश्यक खर्च गर्ने छोरा–बुहारी छन् । परिवारबाट कुनै समस्या छैन । तर उनलाई भने छोरा–बुहारीका पनि आफ्नै सपना हुन्छन्, कति सताउनु जस्तो लागिरहन्छ । आफ्नो अलग्गै कमाई नभए पनि सरकारले महिनामा दिने तीन हजारले उनले व्यक्तिगत खर्च टार्छन् । चार वर्षदेखि सामाजिक सुरक्षा भत्ता लिँदै गरेका इन्द्रबहादुरले आउँदो वर्षदेखि मासिक चार हजार प्राप्त गर्ने भएका छन् । सरकारले ल्याएको बजेटमा ३३ प्रतिशतले सामाजिक सुरक्षा भत्तामा वृद्धि गर्ने भएपछि इन्द्रबहादुरको मनमा खुशीको चाङ लागेको छ । ‘सरकार साहारा बनेको छ’ उनी भन्छन् ‘सरकारले वृद्ध भत्ता नदिएको भए कोसँग माग्न जान्थ्यौं होला हामी ?’ सबैका छोराछोरीले बुवा–आमालाई राम्रो व्यवहार नगरेको भन्दै इन्द्रबहादुरले कसैले नदिए पनि सरकारका कारण बुढेसकालमा भोकै मर्न नपर्ने बताए । लत्ताकपडा, औषधि उपचार र खान मन लागेको चिज महिनाको चार हजारले पुग्ने उनको तर्क छ । एकजनालाई त केही नभए वर्षभरी खान पनि पुग्ने सुनाए । वर्षभरी आउने ४८ हजार रूपैयाँले बुढेसकालको दुःख टर्नेमा ढुक्क छन् । ‘सरकारलाई धन्यवाद छ’ इन्द्रबहादुरको प्रशन्न मुद्रामा थप चमक देखिन्छ ।

गीतादेवी आचार्य वर्षले ७८ पुगिन् । लामो समयदेखि एकल महिला भत्ता लिँदै आएकी उनले अहिले ज्येष्ठ नागरिक भत्ता लिन्छिन् । सरकारले ल्याएको बजेटले उनलाई पनि खुशी बनाएको छ । वीरेन्द्रनगर–८ सुर्खेत घर भएकी उनलाई सरकारप्रति भरोसा बढेको छ । ‘बेसहाराको सहारा बन्ने सरकार चाहिन्छ’ उनले भनिन्, ‘बुढाबुढी, अपाङ्गता भएका, गरिब र दिन–दुःखीलाई हेर्ने सरकार हामीलाई चाहिएको हो ।’ उनी अझै यही भत्ता पनि महिना–महिनामा दिने गरेको भए राम्रो हुने तर्क गर्छिन् । आफूलाई कुनै कुराको कमी नभएको भन्दै गीतादेवीले पैसाकै कारण धेरै वृद्धवृद्धाहरू सडक र वृद्धाश्रममा रहेको उनले सुनाइन् । सक्ने बेलासम्म काम गरेर खानेहरूलाई बुढेसकालमा सरकारले पाल्ने भएपछि ढुक्क भएको उनको भनाइ छ । सरकारले दिने गरेको भत्ता प्रत्येक वर्ष बढ्ने गीतादेवीलाई आशा पनि लागेको छ ।

वीरेन्द्रनगर–८ कै मायादेवी खत्रीलाई पनि शनिवार दिनभरी खुसीले छोडेन । ‘दिनभरी बजेट सुनेँ’ उनले भनिन् ‘बुढाबुढीलाई भत्ता बढाउने कुरा सुन्दा त खुबै खुसी लाग्यो ।’ वर्षले ७२ पुगेकी मायादेवीले दुईवर्षदेखि सामाजिक सुरक्षा भत्ता लिँदै आएकी छन् । आफूलाई आवश्यक पर्ने औषधि, फलफूललगायत सामग्री सोही भत्ताले किनेर खाने गरेको उनले सुनाइन् ।

इन्द्र, गीता र माया मात्रै होइन सामाजिक सुरक्षा भत्ता वृद्धिको खबरले खुसी हुनेहरूको संख्या ठूलो छ । सरकार बेसहाराको सहारा बनेको भन्दै ज्येष्ठ नागरिकहरूले सरकारलाई धन्यवाद समेत दिएका छन् । आर्थिक वर्ष २०७६÷०७७ सम्म मासिक दुईहजार रूपैयाँ रहेको ज्येष्ठ नागरिक भत्ता बढेर तीन हजार रूपैयाँ पुगेको थियो । संघीय सरकारले आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि ल्याएको बजेटमार्फत थप ३३ प्रतिशत वृद्धि गरेपछि अब मासिक चार हजार पाउनेछन् ।

२०५१ सालमा मनमोहन अधिकारी नेतृत्वको सरकारले मासिक एक सय रूपैयाँका दरले ज्येष्ठ नागरिकलाई भत्ता दिन सुरु गरेको थियो । सोही कार्यक्रम विभिन्न सरकारका पालामा थपिंदै अब चार हजार पुुग्दैछ । हाल ७० वर्ष उमेर पुगेका नागरिकहरूले सामाजिक सुरक्षा भत्ता पाउने गरेका छन् । साविकको कर्णाली अञ्चलका जिल्लाका नागरिक तथा दलित समुदायका भने ६० वर्षको उमेरमा उक्त भत्ता पाउँछन् ।


स्वयम्सेविका उत्साहित

मुना हमाल | सुर्खेत: सरकारले आगामी वर्षका लागि ल्याएको बजेटले महिला स्वास्थ्य स्वयम्सेविकाहरूलाई पनि खुसी दिएको छ । आउँदो वर्षदेखि हुने भत्ता वृद्धिको खबरले उनीहरू हर्षित बनेका छन् ।

नेपालको स्वास्थ्य सुधारमा महŒवपूर्ण भूमिका निर्वाह गर्दै आएका महिला स्वास्थ्य स्वयम्सेविकाको भत्ता शतप्रतिशत बढाएर १२ हजार पु¥याएको छ । वीरेन्द्रनगर–६ गणेशचौककी महिला स्वास्थ्य स्वयम्सेविका संगीता पौडेलले सरकारले भत्ता वृद्धि गर्दा आफूलाई खुशी लागेको बताइन् । उनले २०६४ सालदेखि स्वयम्सेविकाको रूपमा काम गर्दै आएकी छन् । लामो समयपछि सरकारले आफ्नो कामको मूल्याङ्कन गरेको भन्दै खुसी व्यक्त गरिन् । ‘यातायात खर्च भनेर भत्ता ६ हजारसम्म पु¥याएको थियो । अहिले दोब्बरले वृद्धि गरी १२ हजार बनाइएछ । भत्ता बढ्दा खुशी लागेको छ’ उनले भनिन्, ‘तीन–चार वर्षयता सरकारले हाम्रो दुःखलाई बुझेको महसुस भएको छ ।’

वीरेन्द्रनगर–८ नौलापुरकी शोभा देवकोटा पनि यतिबेला भत्तावृद्धिको खबरले हर्षित छिन् । स्वयम्सेविकाहरूले गरेको दुःख बुझेर भत्ता बढाएको भन्दै उनले सरकारलाई धन्यवाद दिइन् । यसले आफूहरूलाई थप जिम्मेवार हुन प्रेरित गरेको देवकोटाको भनाइ छ । ‘हाम्रो अरु आयस्रोत नै के छ र ? कहिलेकाँही खोप कार्यक्रम र तालिम पर्दा भत्ता पाउँछौँ’ उनले खुसी व्यक्त गरिन्, ‘अब भने आर्थिक रूपमा केही भए पनि सहज हुन्छ ।’

वीरेन्द्रनगर–१२ खोरियाकी शीला थापा सरकारले आफूहरूको कामको मूल्याङ्कन गरेर भत्ता वृद्धि गर्दै लगेको बताइन् । उनले भनिन्, ‘सुरुवातमा केही सुविधा थिएन । अहिले विस्तारै बढ्दै गएको छ । सरकारले केही भए पनि हाम्रो कामको मूल्याङ्कन गरेको छ । राम्रै लागेको छ ।’ यद्यपि यो पर्याप्त भने नभएको थापाले बताइन । वार्षिक रूपमा पाउने भन्दा पनि मासिक उपलब्ध गराएको भए सहज हुने उनको भनाइ थियो । आगामी दिनमा सरकारले यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिइन् ।

ज्येष्ठ नागरिक र महिला स्वास्थ्य स्वयम्सेविका मात्र होइन भत्ता वृद्धिले सामाजिक सुरक्षा भत्ता पाउने सबै खुसी भएका छन् । सरकारले आगामी आर्थिक वर्षका लागि शनिवार सार्वजनिक गरेको बजेटमा सबै प्रकारका सामाजिक सुुरक्षा भत्तामा ३३ प्रतिशतले वृद्धि गर्ने घोषणा गरेको छ ।

प्रकाशित मितिः   १८ जेष्ठ २०७८, मंगलवार ०५:००