दुई सय बढी संक्रमणमुक्त
कर्णाली प्रदेशमा एक सय ५० जना कोरोना संक्रमित थपिएका छन् । आइतवार पाँच सय ३९ जनाको परीक्षण गर्दा एक सय ५० जनामा संक्रमण पुष्टी भएको हो ।
प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार सल्यानमा ४५, सुर्खेतमा २५, जुम्लामा १६, रूकुम–पश्चिममा १५, मुगुमा १४, दैलेखमा १०, कालीकोटमा ६, जाजरकोटमा चार, डोल्पामा दुई र हुम्लामा एक जनामा कोरोना संक्रमण पुष्टी भएको हो । कर्णाली प्रदेशमा रहेका तर अन्य प्रदेशका दुई जनामा पनि संक्रमण पुष्टी भएको निर्देशनालयले जनाएको छ ।
पछिल्लो समय कोरोना संक्रमणको दरमा कमी हुँदै आएको छ । संक्रमण दरभन्दा संक्रमणमुक्त हुनेको संख्या बढ्दो छ । आइतवार दुई सय ३९ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमण दरमा कमी हुँदै आए पनि जोखिम रहिरहेकोले सचेत हुनुपर्ने चिकित्सकहरूको सुझाव छ ।
हाल प्रदेशमा पाँच हजार सात सय २८ जना सक्रिय संक्रमित छन् । ५१ जनाको आईसीयू र पाँच जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । आइतवार थप चार जनाको मृत्यु भएसँगै कर्णालीमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या दुई सय ४१ पुगेको छ ।
यस्तै आइतवार नेपालभर चार हजार तीन सय ६९ जनामा संंक्रमण पुष्टि भएको छ । देशभर आइतवार ६ हजार दुई सय पाँच जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरी कोरोना संक्रमणको दर कमी हुँदै आएको छ । अहिले निको हुने दर ७९ दशमलव २ पुगेको मन्त्रालयले जनाएको छ ।
प्रकाशित मितिः १७ जेष्ठ २०७८, सोमबार ०५:०१
साझा बिसौनी ।