संक्रमित घट्दै, निको हुने बढे

कर्णाली प्रदेशमा पछिल्लो समय कोरोना संक्रमितको संख्या कम हुँदै गएको छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार पछिल्लो एक साताको तथ्याङ्क हेर्दा संक्रमण दर घट्दै गएको छ ।

कोरोना संक्रमणको दोस्रो लहर सुरु भएयता वैशाखदेखि संक्रमणको दर उच्च थियो । तर पछिल्लो साता कम हुँदै गएको छ । यद्यपि जोखिम भने रहिरहेकोले स्वास्थ्य सुरक्षाका मापदण्ड र निषेधाज्ञा पालना गर्न चिकित्सकहरूको सुझाव छ ।

यसका साथै निको हुनेको संख्या भने बढेको छ । शुक्रवार पाँच सय ६१ जना कोरोना संक्रमणमुक्त भएका थिए भने शनिवार तीन सय ४२ जना संक्रमित निको भएका छन् । निर्देशनालयका निर्देशक डा. रविन खड्काले परीक्षणको ३५ देखि ४० प्रतिशतमा संक्रमण देखिएको बताए । उनले भने, ‘कोरोना संक्रमणको दोस्रो लहर सुरु भएयता जेठ पहिलो सातासम्म संक्रमण दर बढेको थियो ।’ जेठको पहिलो साता चार हजार दुई सय २१ जनामा संक्रमण देखिएको थियो  । पछिल्लो आठ दिनमा भने दुई हजार सात सय ८२ जनामा देखिएको छ । ‘सुरुमा परीक्षण गरिएकामध्ये ९८ प्रतिशतसम्म संक्रमण देखिने गरेको थियो । उक्त दर पछिल्लो एक सातामा ३५ देखि ४० प्रतिशतमा झरेको छ’ डा. खड्काले भने, ‘संक्रमणको दर कम हुँदै गए पनि अझै पनि जोखिम छ । सचेत हुनुपर्छ ।’

कोरोना रोकथाम तथा नियन्त्रणका लागि कर्णालीका सबै जिल्लामा निषेधाज्ञा छ । निषेधाज्ञा र जनस्वास्थ्यका मापदण्ड पालना गरेका कारण पनि संक्रमण दर घटेको हुनसक्ने स्वास्थ्यकर्मीहरूको बुझाइ छ । उच्च जोखिममा रहेको सुर्खेतमा पछिल्लो समय दैनिक एक सयभन्दा कम संक्रमित भेटिएका छन् । शुक्रवार र शनिवार सुर्खेतमा क्रमशः ५८ र ९३ जनामा संक्रमण देखिएको थियो । संक्रमण दरसँगै मृत्युदरमा पनि कमी आएको छ । पहिलेको तुलनामा मृत्युदरमा पनि कमी आएको निर्देशक डा. खड्काले जानकारी दिए । कर्णालीमा अहिलेसम्म दुई सय ३७ जना कोरोना संक्रमितको मृत्यु भइ सकेको छ ।

अर्कोतर्फ अस्पतालमा आउने संक्रमितको संख्यामा समेत कमी आएको छ । निर्देशनालयका अनुसार पछिल्लो समय कोरोना अस्पताल तथा आइसोलेसन र होम आइसोलेसनमा पाँच हजार ६ सय १९ जनाको उपचार भइरहेको छ । त्यसमा पनि आईसीयूमा ५० र भेन्टिलेटरमा पाँच जनाको उपचार भइरहेको छ । स्थानीय तहले स्थानीयस्तरमै आइसोलेसनमा बनाएर उपचार गरेकाले र होम आइसोलेसनमा रहेका संक्रमितहरूलाई निरन्तर स्वास्थ्य परामर्श गरेकाले अस्पतालको चाप घटेको जनाइएको छ ।

कर्णालीका अन्य जिल्लाबाट समेत गम्भीर प्रकृतिका बिरामी रिफर भएर आउने प्रदेश अस्पतालमा बिरामी भर्ना हुने दर कम हुँदै गएको छ । दोस्रो लहर सुरु भएलगत्तै चाप बढे पनि पछिल्लो एक सातामा कमी हुँदै गएको अस्पतालले जनाएको छ । अहिले प्रदेश अस्पतालमा ५० जनाको उपचार भइरहेको छ । कोरोना फोकल पर्सन डा. सञ्जिव भण्डारीले सुरुमा दैनिक १० जनासम्म भर्ना हुने दर भए पनि अहिले दुई जना दैनिक भर्ना हुने गरेको जानकारी दिए । बिरामीको चाप कम भएसँगै अक्सिजनकोे अभाव नभएको उनको भनाइ छ । ‘सुरुसरुमा बिरामीको चाप बढ्दा उपचार तथा व्यवस्थापनमा निकै गाह्रो भयो । दैनिक १०÷१२ जना भर्ना हुन्थे । अहिले दुई÷तीन जना हुन्छन्’ उनले भने, ‘अस्पतालमा मृत्यु हुनेको संख्या पनि कमी छ ।’ संक्रमणदर र मृत्युदरमा कमी देखिए पनि केही हप्ता अझै सचेत हुनुपर्नेमा उनको जोड छ ।

प्रकाशित मितिः   १६ जेष्ठ २०७८, आईतवार ०५:००