गणतन्त्रका उपलब्धि

गणतन्त्र आएको १३ वर्ष पूरा भएको छ । वि.सं. २०६५ साल जेठ १५ गते संविधासभामार्फत नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था भएको मुलुक घोषणा गरिएको थियो । गणतन्त्र भनेको लोकतन्त्रकै उन्नत व्यवस्था हो । जनताबाट निर्वाचित भएका प्रतिनिधिहरूले शासन गर्ने व्यवस्था हो, गणतन्त्र । अर्थात् जनताका छोराछोरीले शासन गर्ने व्यवस्था हो । यसले वंशजका आधारमा शासन गर्ने अवस्थाको अन्त्य गरेको छ । गणतन्त्र भनेको विधिको शासन पनि हो । जहाँ विधि र कानुनको सर्वाेच्चता हुन्छ । गणतन्त्रमा न्याय हुन्छ, समानता हुन्छ, स्वतन्त्रता हुन्छ, पारदर्शिता हुन्छ, उत्तरदायित्वको बोध हुन्छ । अभिव्यक्ति स्वतन्त्रता, राज्यका हरेक निकायमा हरेक समुदाय, क्षेत्र, लिङ्गको समानुपातिक समावेशी प्रतिनिधित्व, धार्मिक स्वतन्त्रता गणतन्त्रले दिएको उपहार हुन् ।

नेपाली जनताले व्यवस्था परिवर्तनका लागि पटक–पटक संघर्ष गरेका छन् । लामो समय राणा शासन कायम रह्यो । राणा शासनको अन्त्यपछि प्रजातन्त्रको स्थापना भयो । तर प्रजातन्त्रले बामे सर्न नपाउँदै तत्कालीन राजाद्वारा पञ्चायती व्यवस्थाको स्थापना भयो । त्यसले पनि नागरिकलाई अधिकार सम्पन्न बनाएन । फेरि संघर्ष गरे र बहुदलीय व्यवस्थासहितको प्रजातन्त्र पुनस्र्थापना भयो । जसबाट राजतन्त्रात्मक व्यवस्थासहितको संविधान २०४७ जारी भयो । यसले पनि नागरिक सर्वोच्चतालाई अंगीकार गरेन । पुनः संघर्ष भयो । अन्ततः राजतन्त्रकै अन्त्य भयो र मुलुक गणतन्त्रमा प्रवेश ग¥यो । जननिर्वाचित प्रतिनिधिद्वारा नयाँ संविधान बन्यो । सोही बमोजिम मुलुक अघि बढिरहेको छ । जनताका छोराछोरी निर्वाचित भएर राज्यको बागडोर सम्हालेका छन्, शासन व्यवस्थाको मालिक भएका छन्, त्यो सबै गणतन्त्रकै देन हो ।

समय फेरियो । समयक्रमसँगै देशको व्यवस्था पनि फेरियो । शासक बदलिए । देशमा गणतन्त्र आयो । नयाँ संविधान बन्यो । नेपालको संविधान निर्माण पश्चात संघीय गणतन्त्रको संस्थागत विकासको लागि तीनवटै तहका निर्वाचन सकिएर सरकारहरू बने । त्यसले संघीय गणतन्त्र नेपालको संस्थागत संरचनाको आधार खडा ग¥यो । निवार्चन पश्चात निर्माण भएका सरकारहरूले संघीय गणतन्त्र कार्यान्वयनका लागि विकासका पूर्वाधारहरू, जनताको सेवा, कानुन निर्माणजस्ता विषयहरूमा विगतभन्दा थुप्रै सकारात्मक, नौलो र उन्नत कार्यहरू गरेका छन् । तर केही अनुभवको कमी, कार्यदक्षताको अभाव, प्रतिनिधिहरूमा शासकीय मानसिकता, सुशासन, पारदर्शीता जस्ता विषय कार्यान्वयनमा चुनौती देखा परे ।
गणतन्त्रपछि पनि नागरिकहरूमा नेतृत्वप्रति आक्रोश छ । यसले गर्दा व्यवस्थाप्रति नै वितृष्णा बढ्दो छ । जनताको त्याग, बलिदान र संघर्षको उपज अहिलेको शासन व्यवस्थामा निकै ठूलो अपेक्षा गरिएको थियो । तर, सोचेअनुरूप नभएपछि नागरिकहरूमा निराशा छ । जनताबाट निवार्चित भएका प्रतिनिधिहरूले शासन गर्ने हुँदा उनीहरू जनताप्रति उत्तरदायी हुन्छन् । जनताका आधारभूत सवालहरूमा संवेदनशील हुन्छन् । गणतन्त्रको आधारभूत मर्म हो यो । तर अपेक्षाकृत रूपमा गणतन्त्रको संस्थागत विकास हुन सकेको छैन । नेतृत्वको खराब आचरणले व्यवस्थाप्रति नै धेरैलाई वितृष्णा जागेको छ । संविधानमा रहेका मौलिक हकसमेत पूर्ण रूपमा उपभोग गर्नबाट नागरिक वञ्चित भइरहेका छन् । यसको सम्बोधन नगरिए वितृष्णा अझै बढ्ने खतरा छ ।

प्रकाशित मितिः   १६ जेष्ठ २०७८, आईतवार ०५:००