निषेधाज्ञा दश दिन थपियो

कोरोना संक्रमण नियन्त्रणका लागि सुर्खेतमा जारी निषेधाज्ञाको एक महिना पुगेको छ । निषेधाज्ञा अझै १० दिनका लागि थप गरिएको छ । वैशाख १४ देखि जारी निषेधाज्ञा जेठ २५ गतेसम्मका लागि लम्ब्याइएको हो । शुक्रवार बसेको जिल्ला कोभिड व्यवस्थापन समितिको वैठकले जेठ २५ गते रातिसम्म निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको छ । यसअघि तोकिएको निषेधाज्ञाको अवधि आज‐शनिवार) राती सकिँदै थियो । जारी निषेधाज्ञाले कोरोना रोकथाम तथा नियन्त्रण हुँदै गएको ठहर गर्दै केही दिन निरन्तरता दिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताए । जिल्लास्थित सरोकारवालाको सर्वपक्षीय सुझावका आधारमा निषेधाज्ञा थप गरिएको उनले जनाए । निषेधाज्ञाले मानिसहरूको आवागमन, भिडभाड तथा चहलपहल नियन्त्रण भएपछि संक्रमणको ‘चेन बे्रक’ हुँदै गएको प्रजिअ रिजालको भनाइ छ ।

जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका अनुसार पछिल्ला दिनमा जिल्लामा संक्रमणदर घट्दो क्रममा छ । सुर्खेतमा हालसम्म १० हजार बढीमा कोभिड संक्रमण देखिएको छ । यहाँ शुक्रवारसम्म दुई हजार चार सय एक जना कोरोनाका सक्रिय संक्रमित छन् । त्यसमध्ये एक हजार ६ सय बढी सक्रिय संक्रमित वीरेन्द्रनगरका हुन् । वरिष्ठ जनस्वास्थ्य अधिकृत चेतननिधि वाग्लेले सुर्खेतमा वैशाख मध्यतिर अत्यधिक देखिएको संक्रमण त्यसयता भने क्रमशः घट्दो क्रममा रहेको बताए । जिल्लामा संक्रमणका कारण हुने मृत्युदरमा समेत कमी आएको उनी बताउँछन् । उनका अनुसार वीरेन्द्रनगर अहिले पनि संक्रमणको उच्च जोखिममा छ । जेठयता सहरी क्षेत्रमा संक्रमणदरमा केही कमी आए पनि ग्रामीण क्षेत्रमा भने बढ्दो छ । जिल्लामा अहिले स्वास्थ्य सामग्री पर्याप्त रहेको, मेडिकल अक्सिजन र जनशक्तिको अभाव पनि नरहेकाले कोभिडको उपचारमा सहजता हुँदै गएको स्वास्थ्य संस्थाका प्रमुखहरूले बताएका छन् ।

प्रकाशित मितिः   १५ जेष्ठ २०७८, शनिबार ०५:०१