स्वास्थ्य सामग्री खरिदमा लेखा समितिको चासो
कर्णाली प्रदेशसभाको सार्वजनिक लेखा समितिले कोरोना महामारीमा सरकारले खर्च गरेको बजेटको सदुपयोग भए/नभएकोबारे चासो देखाएको छ । संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सामाजिक विकास मन्त्रालयबाट स्वास्थ्य संस्थालाई सामग्री खरिद गर्न विनियोजित बजेटको दुरूपयोग भएको गुनासो आउन थालेपछि समितिले यसबारे सक्रियता बढाएको हो । बिहीवार बसेको समितिको बैठकले स्वास्थ्य संस्थाहरूले खरिद गरेका सामग्रीको विवरण तीन दिनभित्रमा उपलब्ध गराउन भनिएको समितिका सदस्य गुलावजङ्ग शाहले बताए ।
महामारीको प्रकोप बढ्दो क्रममा रहेकाले रोकथाम तथा नियन्त्रणका लागि सरकारलाई जिम्मेवार बन्न समितिले निर्देशन गरेको छ । कोरोना भाइरसविरुद्धको खोपको व्यवस्था गर्न संघीय सरकारसँग समन्वय गरी तत्काल व्यवस्था गर्न, अक्सिजन सिलिन्डर नपुगेका स्वास्थ्य संस्थामा तत्काल पु¥याउने व्यवस्था गर्न र विकट क्षेत्रहरूमा प्राथमिक स्वास्थ्य सुविधा पु¥याउन समितिले सरकारलाई निर्देशन गरेको हो । लेखा समितिले चालु आर्थिक वर्षमा प्रदेश सरकारले गरेको रकमान्तरसम्बन्धी विवरण पनि मागेको छ । सल्यान जिल्ला अस्पतालले खरिद गरेको अक्सिजन कन्सन्ट्रेन्टर खरिदसम्बन्धी विवादको यथार्थ अध्ययन गर्न विज्ञ परामर्शदाता बोलाई छानविन थाल्ने कार्य गर्ने समेत निर्णय भएको बताइएको छ । यस्तै, समितिले बहुवर्षीय आयोजना, बोलपत्र आह्वान अथवा कार्य प्रक्रिया सुरू नगरिएका आयोजनाहरू तत्काल सुरू गर्न सरकारलाई निर्देशन दिने निर्णय गरेको छ ।
प्रकाशित मितिः १४ जेष्ठ २०७८, शुक्रबार ०५:०१
साझा बिसौनी ।