बजारमा म्याद नाघेका वस्तु बिक्री

सुर्खेतका स्थानीय बजारहरूमा म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्ने गरिएको पाइएको छ । ग्रामीण भेगका बजारमा व्यापारीहरूले अखाद्य वस्तु बिक्री गरेका हुन् । मंगलवार जिल्ला प्रशासन कार्यालय सुर्खेतले गरेको बजार अनुगमनका क्रममा अखाद्य वस्तु बिक्री गर्ने गरेको भेटिएको हो । अनुगमनका क्रममा खाद्य पसलहरूमा म्याद नाघेका सामग्री फेला परेपछि जफत गरेर नष्ट गरिएको छ ।

निषेधाज्ञाका कारण सामान आपूर्ति सहज नभएको वहाना बनाउँदै व्यापारीहरूले मूल्य वृद्धि, कृतिम अभावका साथै म्याद नाघेका वस्तुहरू बिक्री गर्दा उपभोक्ताहरू मारमा परेका छन् ।

बराहताल गाउँपालिकाको बड्डिचौर बजारमा उपभोग गर्ने मिति सकिएका तेल, बिस्कुट, चाउचाउ, दालमोठ, भुजा लगायतका विभिन्न सामग्रीहरू जफत गरिएको प्रशासन कार्यालयले जनाएको छ । पसलमा बिक्री गर्न राखिएका त्यस्ता अखाद्य वस्तु जफत गरी नष्ट गरिएको हो । बड्डिचौर बजारमा रहेका १८ वटा विभिन्न खाद्य, औषधि र तरकारी पसलमा अनुगमन गरिएको थियो । अनुगमनमा करिब १५ हजार रूपैयाँ बराबरका म्याद गुज्रिएका खाद्य सामग्री जफत गरिएको हो । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी श्रीशम्शेर रानामगरले स्थानीय बजारहरूमा बेथिति देखिएको बताए । त्यस्ता अखाद्य वस्तु जफत गरी नष्ट गर्ने, व्यवसायीलाई आइन्दा यसो नगर्न चेतावनी दिने र नियतवश बद्मासी गरेको भेटिए कारबाही प्रक्रिया अघि बढाउने गरिएको जनाए । अवज्ञा गरी पुनः अखाद्य वस्तु बिक्री गरेको पाइएमा त्यस्ता पसललाई सिल गर्दै सञ्चालकलाई कारवाही गरिने उनले बताए । पहिलो चरणमा सम्झाइ–बुझाई छोड्ने र दोस्रो पटक पनि गल्ती दोहोरिएको खण्डमा कानुनी कारवाही गरिने उनका भनाइ छ ।

प्रशासन कार्यालयले निषेधाज्ञाको समयमा कालोबजारी तथा खाद्य वस्तुको कृतिम अभाव हुन नदिन अनुगमन गर्दै आएको बताएको छ । बजार अनुगमनका क्रममा व्यवसायी र ग्राहकलाई सचेत गराउने, मूल्यमा एकरूपता ल्याउने, मूल्यसूची राख्न लगाउने, सामान खरिद बिक्री गर्दा अनिवार्य बिल लिन दिन लगाउने र म्याद नाघेका सामग्री भएमा छुट्टै राखी नष्ट गर्ने लगायतका काम भइरहेको प्रशासन कार्यालयका सूचना अधिकारी रानामगरले बताए । उनका अनुसार निजी स्वास्थ्य संस्थाहरूले कोरोनाको बढ्दो संक्रमणको अवस्थामा सर्वसाधारण नागरिकहरूलाई दिने सेवा र मनोपरामर्शलाई प्रभावकारी बनाउन समेत प्रशासनले अनुगमन गरिरहेको छ ।

ग्रामीण क्षेत्रका बजारमा मात्र नभइ वीरेन्द्रनगर जस्ता ठूला बजारमा पनि व्यापारीहरूले मनोमानी मूल्यवृद्धि गर्ने र म्याद सकिएका वस्तु बेच्ने गरेको अनुगमनका क्रममा पाइएको प्रशासन कार्यालयले जनाएको छ । निषेधाज्ञाका कारण सामान आपूर्ति नभएको वहाना बनाउँदै व्यापारीहरूले मूल्यवृद्धि, कृतिम अभावका साथै म्याद नाघेका वस्तुहरू बिक्री गर्दा आम उपभोक्ताहरू मारमा परेका छन् । स्थानीय प्रशासनले यो अवधिमा पनि खाद्य वस्तुलगायतका अत्यावश्यक सामग्रीको सहज आपूर्ति भइरहेको जनाएको छ ।

प्रशासनले सम्बन्धित स्थानीय तहहरूलाई बजारको नियमित अनुगमनका लागि आग्रह समेत गरेको छ । स्थानीय तहमा बजार अनुगमनका लागि समितिहरू भए पनि सक्रिय भने छैनन् । मंगलवार जिल्ला प्रशासन कार्यालयको टोलीसँगै बराहताल गाउँपालिकाका उपाध्यक्ष शोभाकुमारी शर्मा र प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर वली, बड्डिचौर बजार व्यवस्थापन समितिका अध्यक्ष, बड्डिचौर प्रहरी चौकीका इञ्चार्जसहितले स्थानीय बजारको संयुक्त अनुगमन गरेका थिए ।

प्रकाशित मितिः   १२ जेष्ठ २०७८, बुधबार ०५:००