बेरोजगारलाई राहत

मुलुक सहज अवस्थामा छैन । कोरोना महामारीका साथसाथै राजनीतिक विचलनले अस्तव्यस्त बनेको छ । नागरिकका समस्या जस्ताको त्यस्तै छन् । महामारी नियन्त्रणमै सरकारले अपेक्षाकृत ध्यान दिन नसकिरहेको बेलामा अन्य समस्यातर्फ ध्यान पुग्ने अपेक्षा गर्न पनि सकिन्न । यावत समस्याहरूकामाझ एउटा ठूलो समस्या बेरोजगारी पनि हो । त्यसमाथि कोरोना महामारीले अहिले धेरैको रोजगारी खोसिएको छ । रोजगारमूलक क्षेत्रहरू बन्द छन् । मजदुरहरूले काम नपाउने अवस्था छ । रोजगारीका लागि भारत लगायतका तेस्रो मुलुक र देशभित्रकै ठूला सहरमा रहेकाहरू पनि कोरोना त्रासपछि गाउँ फर्किएका छन् । धेरैजना बेरोजगार भइ बस्नु परिरहेको छ ।

बेरोजगारी समस्या सबैतिर छ, तर कतिपयले भने यो बेलामा पनि रोजगारी पाएका छन् । रोजगारीका अवसर नपाएर छाक टार्नै मुस्किल भएका उनीहरूलाई पछिल्लो समय भने केही राहत मिलेको छ । पालिकाहरूले रोजगार कार्यक्रम कार्यान्वयन गर्न थालेसँगै स्थानीयले गाउँमै कमाउने अवसर पाएका हुन् । अहिले हरेक स्थानीय तहमा रोजगारमूलक कार्यक्रमहरू सञ्चालनमा छन् । छोटो अवधिको रोजगारी भए पनि यस्ता कार्यक्रमले निम्नवर्गीय परिवारलाई राहत भएको छ । पालिकाहरूले प्रधानमन्त्री रोजगार कार्यक्रम, मुख्यमन्त्री रोजगार कार्यक्रम र युवा रोजगारका लागि रूपान्तरण कार्यक्रममार्फत रोजगारी सिर्जना गरेपछि उनीहरूलाई कमाउने मेसो मिलेको हो । कोरोना संक्रमण तीव्र बन्दै गएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेका छन् । तर, यसबीचमा पनि विकास निर्माणका काम भने रोकिएका छैनन् । स्वास्थ्य सावधानी अपनाउँदै सम्बन्धित पालिकाहरूले साना योजनामा रोजगारमूलक कार्यक्रम सञ्चालन गरिरहेका हुन् । जसका कारण निषेधाज्ञाको बेला पनि मजदुरहरूले गाउँमै कमाइ गर्न पाएका छन् ।

रोजगार कार्यक्रम अन्तर्गत विशेष गरेर पूर्वधार निर्माणका काम भइरहेका छन् । त्यसमा पनि सडक निर्माण प्राथमिकतामा छ । गाउँ–गाउँमा नयाँ सडक निर्माण र मर्मत कार्य भइरहेका छन् । काम गरेवापत मजदुरले दैनिक ज्याला पाउँछन् । गाउँमा रोजगारमूलक कार्यक्रम कार्यान्वयनमा गएपछि श्रमिकले कमाउने अवसर मात्र पाएका छैनन् विकास निर्माणका साना योजनाले पनि गति लिएका छन् । तर यो स्थानीय तहमार्फत कार्यान्वयन हुने अल्पकालीन रोजगारी कार्यक्रम हो । यसले तत्कालका लागि केही राहत दिए पनि बेरोजगारी समस्याको पूर्ण समाधान भने गर्दैन ।

कोरोना कहर कहिलेसम्म यही अवस्थामा रहने हो निश्चित छैन । संक्रमण नियन्त्रणउन्मुख नभएसम्म निषेधाज्ञा पनि जारी रहनेछ । जसले गर्दा तत्कालै सबै क्षेत्र सञ्चालनमा आउने सक्ने अवस्था छैन । बेरोजगारी समस्या रहिरहनेछ । त्यसैले यो समयमा सरकारले पनि संक्रमण फैलिन नदिने उच्च सावधानीका साथसाथै बेरोजगारहरूलाई रोजगारीका काममा लगाउने योजना बनाउन उत्तिकै जरुरी छ । विशेषगरी ग्रामीण क्षेत्रमा जहाँ विकास पनि होस् र रोजगारीका पर्याप्त अवसर सिर्जना हुनसक्दछन् । त्यसकारण पनि अहिले सञ्चालन भइरहेका रोजगार कार्यक्रमको प्रभावकारी कार्यान्वयन धेरैका लागि राहतसिद्ध हुनसक्दछ ।

प्रकाशित मितिः   १३ जेष्ठ २०७८, बिहीबार ०५:००