संक्रमितको घर दैलोमै औषधि

होम आइसोलेसनमा रहेका कोरोना संक्रमितको घरमै पुगेर औषधि तथा स्वास्थ्य सामग्री वितरण गर्न थालिएको छ । वीरेन्द्रनगर नगरपालिकाले संक्रमितको घर दैलोमै पुगेर स्वास्थ्य सेवा दिन सुरू गरेको हो । नगर प्रमुख देवकुमार सुवेदी, उपप्रमुख मोहनमाया ढकाल, वडा सदस्यहरू र कर्मचारीले संक्रमितहरूको घर–घरमा पुगेर आवश्यक औषधि र अन्य स्वास्थ्य सामग्री वितरण गरेका छन् । नरपालिकाले पारासिटामोल, जिंक चक्की, एजिथ्रोमाइसीन, भिटामिन बी र सी, जीवनजल, साबुन, कोलगेट, ब्रससहितको ‘कोरोना कीट’ तयार पारेको छ । ‘संक्रमितहरूको घरमै पुगेर बिरामीहरूलाई आवश्यक औषधि र परामर्श दिने गरिएको नगर प्रमुख सुवेदीले बताए । उनका अनुसार जनप्रतिनिधिहरू स्वास्थ्यकर्मीहरूको टोली लिएर संक्रमितको अवस्था बुझ्ने तथा औषधि लगायतका सामग्री वितरणमा जुटेका हुन् । पछिल्लो तथ्याङ्क अनुसार वीरेन्द्रनगरमा सक्रिय संक्रमितहरूको संख्या एक हजार ६ सयभन्दा बढी छ । प्रदेशभर सबैभन्दा बढी कोरोना संक्रमित वीरेन्द्रनगरमा छन् ।

स्वास्थ्य सामग्री दिनेसँगै स्वास्थ्य मापदण्ड पालना गरे÷नगरेको अनुगमन पनि गर्ने गरिएको नगपालिकाले जनाएको छ । कोरोना संक्रमितहरू होम आइसोलेसनमा बस्ने नगरेको, संक्रमण लुकाएर घुम्ने गरेकोलगायतका गुनासाहरू आउन थालेपछि नगरपालिकाले कोरोना किटसँगै अनुगमनलाई पनि तीव्रता दिएको हो । संक्रमितको घरमै पुग्ने स्वास्थ्य टोलीले बिरामीको अक्सिजन लेभल नियमित चेकजाँच गर्छ । अक्सिजनको मात्रा कमी भएकाहरूलाई आफैले सञ्चालन गरेको नगर अस्पतालमा ल्याएर उपचार थाल्ने गरिएको पालिकाले जनाएको छ । संक्रमितहरूको मनोबल बढाउनुका साथै स्वास्थ्य उपचारमा सहजता र जनचेतनाका लागि घरदैलो अभियान थालिएको नगर प्रमुख सुवेदी बताउँछन् ।

नगर प्रमुख, उपप्रमुख, वडाध्यक्षहरू, प्रमुख प्रशासकीय अधिकृत र स्वास्थ्यकर्मीहरूको टोली नियमित संक्रमितहरूको घर–घरमा पुग्ने गरेका छन् । नगर स्वास्थ्य शाखाका प्रमुख भुपेन्द्रदेव गिरीका अनुसार सोमवार, बुधवार र शुक्रवार निःशुल्क पीसीआर परीक्षणका साथै संक्रमण बढी देखिएका वडा नं. २, ३, ८ र १२ मा एन्टिजेन परीक्षणलाई पनि तीव्र्रता दिइएको छ । नगरपालिकाले निःशुल्क एम्बुलेन्स सेवासहितको २५ बेडको कोभिड अस्पताल समेत सञ्चालन गरिरहेको छ ।

प्रकाशित मितिः   १० जेष्ठ २०७८, सोमबार ०५:०१