स्वास्थ्यकर्मीको कदर गर

महामारीको बेला छ । कोरोना भाइरस (कोभिड–१९)को संक्रमणले आक्रमण गरिरहेको छ । नयाँ–नयाँ भेरियन्टसहितको संक्रमण बढेसँगै त्रास पनि बढेको छ । जोखिम बढेको छ । तर अस्पतालमा स्वास्थ्य पूर्वाधार र जनशक्तिको संख्या भने बढ्न सकेको छैन । जुनसुकै समयमा भयावह अवस्था आउनसक्ने विज्ञहरू बताउँछन् । ठीक यहीबेला मुलुकको राजनीति अप्ठ्यारो बाटोतर्फ हिँडिरहेको छ । केपी शर्मा ओली नेतृत्वको सरकारले विश्वासको मत नपाउने र वैकल्पिक सरकार पनि बन्न नसक्ने परिस्थिति सिर्जना भएपछि प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री ओलीले दुई चरणमा मध्यावधि निर्वाचन गर्न सिफारिस गरे । लगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले सिफारिस बमोजिमको निर्णय गरिन् । राजनीतिले नयाँ मोड लियो । विपक्षी दलहरू विरोधमा छन् । सरकार जसरी पनि निर्वाचनमा जाने अड्डिमा छ । यो बेलामा महामारी नियन्त्रणको योजना र कार्यक्रम अलपत्र पर्ने हुन् कि भन्ने चिन्ताले आम नागरिक पिरलिएका छन् ।

अहिले पनि कोरोना महामारीविरुद्ध स्वास्थ्यकर्मीहरू एक्लैजसो लडिरहेका छन् । पर्याप्त पूर्वाधारविना नै खटिएका छन् । जोखिम मोलेर अरुको ज्यान बचाउने कर्ममा लागिरहेका छन् । महामारीको बेलामा आफ्नो ज्यान दाउमा राखेर अरुको जीवन बचाउने प्रयत्न गरिरहेका छन् । स्वास्थ्य संकटको बेला छ । असामान्य अवस्थामा बिरामीको हेरचाह गर्नु पक्कै सहज छैन । अस्पतालमा अनेक समस्या र अभाव हुँदा स्वास्थ्यकर्मीहरू पनि असुरक्षित छन् । कोरोना संक्रमित बिरामीको चाप दिनहँु बढ्दो छ । स्वास्थ्य संस्थाहरूमा जनशक्तिको अभाव छँदैछ स्वास्थ्य सामग्री समेत पर्याप्त छैनन् । महामारीमा थुप्रै अभाव र अप्ठ्याराहरूका बीच पनि उनीहरू दिनरात नभनी सेवा दिइरहेका छन् । स्वास्थ्यकर्मीहरू आफ्नो प्रवाह नगरी महामारीसँग जुध्दै कोरोना संक्रमितको उपचारमा खटिएका हुन् ।

कर्णाली प्रदेश यसै पनि स्वास्थ्य पूर्वाधारमा कमजोर छ । त्यसमाथि कोरोना संक्रमणले निम्त्याएको महामारी नियन्त्रण गर्नुपर्ने जिम्मेवारी स्वास्थ्यकर्मीको काँधमा छ । समुदायस्तरमा व्यापक बनेको संक्रमण नियन्त्रण निकै चुनौतीपूर्ण बन्दै छ । संक्रमण र मृत्युदर बढ्दो छ । अस्पतालका बेड भरिभराउ भएका छन् । मेडिकल अक्सिजनको उस्तै हाहाकार छ । दोस्रो लहरको संक्रमणमा कर्णाली आक्रान्त छ । प्रदेश राजधानी वीरेन्द्रनगर लगायतका क्षेत्र कोरोना ‘हटस्पट’ बनेका छन् । यहाँ दैनिक सैयौं नयाँ संक्रमित थपिन्छन् भने दर्जनको हाराहारीमा ज्यान जान्छ । यस्तो संकटको समयमा पनि आफ्नो पेसागत दायित्व निर्वाह गरिरहेका स्वास्थ्यकर्मी सम्मानका हकदार छन् । राज्यले उनीहरूको विशेष कदर गर्न जरुरी छ । संक्रमितको उपचार गर्दागर्दै आफै संक्रमित हुन्छन् । निको हुन्छन् र फेरि सेवामा जुटिहाल्छन् । त्यसमाथि न्यून जनशक्तिका कारण चौबिसै घण्टा खटिनुपर्ने बाध्यता छ । अहिले स्वास्थ्यकर्मीहरूको हौसला बढाउनु जरुरी छ । सरकारले उनीहरूको सुरक्षाका साथसाथै सुविधामा विशेष ध्यान दिनुपर्ने हुन्छ । स्वास्थ्यकर्मीहरूकै कारण नागरिकले सेवा पाएका छन् । केही मात्रामा भए पनि संक्रमण नियन्त्रणमा सघाउ पुगेको छ ।

प्रकाशित मितिः   ९ जेष्ठ २०७८, आईतवार ०५:००