मुलुक अब प्रतिनिधि सभा विघटन र मध्यावधि निर्वाचनतर्फ
काठमाडौं – मुलुक अब प्रतिनिधि सभा विघटन र मध्यावधि निर्वाचनतर्फ जाने संकेत देखिएको छ । संविधानको धारा ७६ (५) अनुसार नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाद्वारा प्रधानमन्त्री बन्न प्रस्तुत भएका दुबै दाबीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले अस्विकार गरेकी छन्।
राष्ट्रपतिको उक्त निर्णयलगत्तै मन्त्रीपरिषद्को आकस्मिक बैठक बसेको छ । योसँगै सम्भवत अब प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधी सभा विघटनका लागि सिफारिश गर्ने छन्।
संविधानको धारा धारा ७६ (७)मा प्रधानमन्त्रीको सिफारिशमा राष्ट्रपतिले संसद् विघटन गरेर ६ महिनाभित्र सम्पन्न हुने गरी निर्वाचन घोषणा गर्ने प्रावधान छ।
संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त हुन नसकेपछि अब बहालवाला प्रधानमन्त्री ओलीले नै प्रतिनिधि सभा विघटनको सिफारिस गर्नेछन् । अहिले बालुवाटारमा बसिरहेको मन्त्रिपरिषद् बैठकले सम्भवत: विघटनको सिफारिस गर्नेछ। यही सिफारिस अनुसार राष्ट्रपतिले संविधानको धारा ७६ (७) बमोजिम प्रतिनिधिसभा विघटन गरी ६ महीनाभित्र निर्वाचन सम्पन्न गर्ने गरी मिति तोक्नेछिन्।
राष्ट्रपति भण्डारीले यसअघि प्रधानमन्त्री ओलीको सिफारिसमा ५ पुस २०७७ मा प्रतिनिधि सभा विघटन गरी गत वैशाखका लागि निर्वाचनको मिति तोकेकी थिइन्। तर, सर्वोच्च अदालतको संवैधानिक इजलासले ११ फागुनमा विघटनलाई असंवैधानिक ठहर गरेको थियो । संविधानले निर्धारण गरेका प्रक्रिया पूरा नगरी प्रतिनिधि सभा विघटन गरेको भन्दै सर्वोच्च अदालतले बदर गरिदिएको थियो । तर अब भने संवैधानिक रुपमै मुलुक प्रतिनिधि सभा विघटन र निर्वाचनतर्फ जाने भएको छ ।
प्रकाशित मितिः ८ जेष्ठ २०७८, शनिबार ००:३३

साझा बिसौनी ।