महामारीसँग एक्लै जुध्दै स्थानीय तह

कोभिड नियन्त्रण, उपचार तथा जनचेतनाका लागि स्वास्थ्यकर्मीको टोलीसहित सिम्ता गाउँपालिकाका जनप्रतिनिधि घरदैलो अभियान गर्दै ।

स्थानीय तहहरूले यो वर्ष केन्द्र र प्रदेश सरकारबाट कोरोना भाइरस (कोभिड–१९) को प्रतिकार्यका लागि कुनै सहायता पाएनन् । माथिल्लो तहका सरकारबाट बजेट र स्वास्थ्य सामग्री नपाएपछि यतिबेला स्थानीय सरकार कोरोना महामारीसँग एक्लै जुध्दै छन् । पालिकाहरूले आफ्नै बलबुतामा कोरोना नियन्त्रण तथा उपचारको व्यवस्थापन गरिरहेका हुन् । कोरोना परीक्षण, उपचार, जनशक्ति र स्वास्थ्य सामग्रीको आफै प्रबन्ध गर्दै स्थानीय तह नागरिक जोगाउन जुटेका छन् ।

सुर्खेतका नौ वटै स्थानीय तहले कोभिड प्रतिकार्यका लागि पालिकास्तरमै व्यवस्थापन मिलाएका छन् । स्थानीय तहले अस्पताल सञ्चालन, परीक्षण, स्वास्थ्यकर्मी व्यवस्थापन, अक्सिजनसहितका आइसोलेसन र एम्बुलेन्सको व्यवस्था गरेका हुन् । यसबाहेक घरदैलो कार्यक्रम गरी सचेतना फैलाउने, संक्रमितको मनोबल बढाउने र पोषिलो भोजन वितरण गर्ने कामहरू पनि भएका छन् । गत वर्ष संघीय र प्रदेश सरकारको योजना पछ्याउँदै कोभिड प्रतिकार्यमा लागेका स्थानीय सरकार अहिले आफ्नो पालिकाको जोखिमको अवस्था र आवश्यकता मूल्याङ्कन गरी सोही अनुसार कोरोनाविरुद्धको अभियानमा सक्रिय बनेका हुन् ।

कर्णाली प्रदेशको राजधानी समेत रहेको वीरेन्द्रनगर नगरपालिकाले २५ बेडको कोभिड अस्पताल सञ्चालन गरेको छ । प्रदेशमै सबैभन्दा बढी संक्रमणको जोखिममा रहेको पालिकाले कटकुवा स्वास्थ्य चौकीमा कोभिड अस्पताल सञ्चालनमा ल्याएको हो । नगरले सञ्चालन गरेको अस्पतालमा अक्सिजनसहितका आइसोलेसन बेड, विशेषज्ञ चिकित्सक र एम्बुलेन्स सेवा दिइएको छ । कोभिड प्रतिकार्यका लागि नगरपालिकाले चालु आर्थिक वर्षमा एक करोड बजेट व्यवस्थापन गरेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पर्शुराम खड्काले बताए । उनका अनुसार होम आइसोलेसनमा रहेका संक्रमितहरूको निगरानी, कन्ट्याक्ट टे«सिङ्ग र हप्ताको तीन दिन कोरोना परीक्षणका लागि स्वाब संकलन समेत गर्ने गरिएको छ । सोमवार, बुधवार र शुक्रवार कोरोना परीक्षण गर्ने गरिएको उनले बताए ।

स्वास्थ्य शाखा प्रमुख खड्काले दिएको पछिल्लो तथ्याङ्क अनुसार संस्थागत र होम आइसोलेसनमा गरी वीरेन्द्रनगरमा दुई हजार पाँच सय ९६ जना सक्रिय संक्रमित छन् । लक्षणसहितका केहीको स्वास्थ्य संस्थाहरूमा उपचार भइरहेको छ भने बहुसंख्यक संक्रमितहरू होम आइसोलेसनमा छन् । गएको वर्ष पालिकाहरूले कोरोना प्रतिकार्यका लागि प्रदेश सरकारबाट आर्थिक तथा स्वास्थ्य सामग्री सहयोग पाएका थिए । यस वर्ष भने प्रदेशबाट पनि कुनै सहयोग प्राप्त नभएको स्थानीय तहले जनाएका छन् ।

त्यस्तै, भेरीगंगा नगरपालिकाले कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ । नगरपालिकाको वडा नं. ११ राताचौरमा २० बेड क्षमताको कोरोना अस्थायी अस्पताल बनाइएको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतबहादुर बस्नेतले आफूहरूले कोरोना प्रतिकार्यका लागि ७६ लाख बजेट छुट्याएको बताए । पालिकाले संक्रमितलाई बोक्न दुई वटा एम्बुलेन्स, उपचारका लागि आइसोलेसन र डाक्टरसहितका स्वास्थ्यकर्मीको टिम व्यवस्था गरेको उनी बताउँछन् । ‘कोरोना प्रतिकार्यका लागि माथिल्लो तहका सरकारबाट यो वर्ष कुनै आर्थिक सहयोग पाएका छैनौं,’ उनले भने, ‘नगरपालिकाको क्षमताले भ्याएसम्म महामारीबाट नागरिकलाई जोगाउने प्रयास भइरहेको छ ।’ भेरीगंगामा हालसम्म तीन सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये बिहीवारसम्म एक सय ९९ जना सक्रिय संक्रमित छन् । संक्रमणका कारण हालसम्म ११ जनाको मृत्यु भएको छ । भेरीगंगामा कोरोना संक्रमितको मनोबल बढाउन संक्रमितको घरमै पुगेर पौष्टिक आहार र स्वास्थ्य सामग्री वितरण गर्ने गरिएको छ ।

प्रदेशमा कोरोना संक्रमितको उपचारका लागि तोकिएका ठूला अस्पतालमा समेत बेड नपाएर संक्रमितको ज्यान जाने अवस्था आउन थालेपछि स्थानीय सरकार आफै स्वास्थ्य पूर्वाधार निर्माणमा जुटेका हुन् । स्थानीय तहले चिकित्सक र अक्सिजनसहितका आइसोलेसन बेडको व्यवस्थापन गरेपछि संक्रमितको उपचारमा सहजता आएको छ । पञ्चपुरी नगरपालिकाले ५० बेड क्षमताको आइसोलेसन निर्माण गरी उपचार थालेको छ । यहाँ कोरोनाका बिरामी बोक्न दुई वटा एम्बुलेन्स छन् । कोरोना प्रतिकार्यका लागि ८५ लाख बजेटको व्यवस्थापन गरेको नगरप्रमुख उपेन्द्र थापाले जानकारी दिए । उनले पनि यो वर्ष केन्द्र र प्रदेश सरकारबाट कुनै आर्थिक सहायता नपाएको जनाए । पालिकामा अहिले कोरोनाका ७२ जना सक्रिय संक्रमित छन् भने संक्रमणका कारण दुई जनाको मृत्यु भएको छ ।

लेकवेशी नगरपालिकामा १५ बेड क्षमताको अक्सिजनसहितको आइसोलेसन सञ्चालन गरी सेवा दिइँदै आएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद खरेलले हरेक हप्ताको तीन दिन कोरोना परीक्षण गरिँदै आएको बताए । परीक्षणका लागि नगरले घरदैलो कार्यक्रम समेत सञ्चालन गर्दै आएको उनी बताउँछन् । लेकवेशीमा हालसम्म कोभिड संक्रमणका कारण आठ जनाको ज्यान गएको छ ।

गुर्भाकोट नगरपालिकामा संघीय सरकार मातहतको मेहलकुना अस्पताल पनि छ । यो बाहेक नगरपालिकाले २५ बेडको आइसोलेसन, एम्बुलेन्स र परीक्षण तथा सचेतनाका लागि घरदैलो कार्यक्रम गर्दै आएको छ । प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर खत्रीले चालु आर्थिक वर्षको विकास बजेट कटौती गरेर कोरोना प्रतिकार्यमा खर्चिएको बताए ।

कर्णाली प्रदेश सरकारले स्थानीय तहहरूलाई कोरोना प्रतिकार्यका लागि बजेट र आवश्यक सामग्री पठाउने निर्णय गरेको लामो समय भइसक्दा समेत पालिकाहरूमा पुगेको छैन । स्थानीय तह आफैले विकास खर्च कटौती गरी कोरोना प्रतिकार्यमा लगाएका हुन् । चौकुने गाउँपालिकाले संक्रमितको उपचार गर्न २१ बेड क्षमताको आइसोलेसन सञ्चालन गरेको छ । गाउँपालिका अध्यक्ष धीरबहादुर शाहीका अनुसार चौकुनेमा अहिले १५ जना सक्रिय संक्रमित छन् । यस्तै, बराहताल गाउँपालिकाले पाँच बेड क्षमताको आइसोलेसन सञ्चालन गरेको छ ।

सिम्ता गाउँपालिकामा ५० बेड आइसोलेसन सञ्चालनमा छ । पालिकाको आफ्नै लगानीमा आइसोलेसन सञ्चालनमा ल्याइएको हो । स्वास्थ्य शाखा प्रमुख वीरेन्द्र पुनले अक्सिजन दिनुपर्ने बिरामीको लागि ६ वटा कन्सन्ट्रेटरको व्यवस्था गरिएको छ । कोरोना परीक्षण तथा उपचार आवश्यक स्वास्थ्य जनशक्ति समेत परिचालन गरिएको उनले बताए । कोरोनाको दोस्रो लहरपछि सिम्तामा २५ जनामा संक्रमण पुष्टि भएको छ । अहिले सात जना सक्रिय संक्रमित छन् ।

कोरोना संक्रमितको संख्या बढ्दै जान थालेपछि चिङ्गाड गाउँपालिकाले १२ बेड क्षमताको कोरोना अस्थायी अस्पताल बनाएको छ । अस्पताल सञ्चालनमा आएदेखि संक्रमितको उपचारमा सहज भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत दीर्घ बुढाले बताए । संक्रमितलाई अस्पतालसम्म लैजान पालिकामा दुई वटा एम्बुलेन्स व्यवस्थापन गरिएको छ । विपद् व्यवस्थापन कोषमा रहेको ४२ लाख बजेट हाल कोरोना प्रतिकार्यका लागि खर्च गरिएको गाउँपालिकाले जनाएको छ । अहिले चिङ्गाडमा एक सय दुई जना सक्रिय संक्रमित छन्  ।

प्रकाशित मितिः   ७ जेष्ठ २०७८, शुक्रबार ०५:००