६ सय ७९ जनामा संक्रमण पुष्टि

कर्णाली प्रदेशमा बुधवार थप ६ सय ७९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । आरटी–पीसीआर विधिबाट चार सय ६९ र रेपीड–एन्टिजेन विधिबाट गरिएको परीक्षणमा दुई सय १० जनामा संक्रमण देखिएको हो । योसहित हालसम्म प्रदेशभर संक्रमण पुष्टि हुनेहरूको संख्या १८ हजार ६ सय ७८ पुगेको छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयको पछिल्लो तथ्याङ्क अनुसार कर्णालीमा कोरोनाका सक्रिय संक्रमित ६ हजार एक सय २६ जना छन् ।

यस्तै, बुधवार प्रदेशभरका विभिन्न अस्पताल तथा होम–आइसोलेसनमा रहेका तीन सय ९६ जनाले कोरोना जितेका छन् । यो संख्यासँगै प्रदेशभर हालसम्म संक्रमणमुक्त हुनेहरूको संख्या ११ हजार तीन सय ६३ पुगेको छ । प्रदेशभर थप नौ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ । कर्णालीमा हालसम्म एक सय ७९ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

यसैबीच, देशभर थप आठ हजार एक सय ७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बुधवार पीसीआर विधिबाट गरिएको परीक्षणबाट आठ हजार ६४ र एन्टिजेन विधिबाट एक सय नौ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बुधवार एकैदिन देशभर कोरोना संक्रमित दुई सय ४६ जनाको मृत्यु भएको छ ।

प्रकाशित मितिः   ६ जेष्ठ २०७८, बिहीबार ०५:००