महामारीमा संक्रमित राजनीति
एसियाली मुलुक चीनमा सन् २०१९ को अन्तिमतिर पत्ता लागेको कोरोना भाइरस (कोभिड–१९)को नयाँ भेरियन्टसहितको दोस्रो लहरले अर्का दुई एसियाली मुलुक भारत र नेपाललाई अत्यधिक आक्रान्त पारेको छ । युरोप तथा अमेरिकन देशहरूमा पहिलो लहरले जति प्रभाव पारेको थियो त्यो भन्दा बेसी दोस्रो लहरले हामीकहाँ असर गर्दैछ । दिनहँु हुने मृत्युदर र संक्रमणदर पनि उत्कर्षमा पुगिरहेको छ । प्रतिशतमा गणना गर्दा नेपालको संक्रमण दर भारतको भन्दा पनि बढी देखिन्छ । जनस्वास्थ्यविद्, विश्व स्वास्थ्य संगठनले संक्रमणका हिसाबले नेपाल अझै उच्च जोखिम रहेको चेतावनी पटक–पटक दिइरहेकै छन् ।
विशेषगरी फागुनदेखि नेपालमा नयाँ भेरियन्टसहितको कोरोनाको दोस्रो लहर भित्रिएको थियो तर पूर्व तयारी, जनशक्ति व्यवस्थापन, औषधि उपचार, परीक्षणको व्यवस्थापन, नियन्त्रणको समग्र योजनामा तीनवटै तहका सरकार कुहिरोको काग बनिरहे । किनकी कोरोनाभन्दा महासंक्रमण नेपालका राननीतिक दलहरू र सरकारहरूमा भएको थियो । पुष ५ को संसद् विघटन पश्चात चरम संक्रमणमा पुगेको राजनीति अहिलेसम्म पनि संक्रमणमुक्त हुन सकिरहेको छैन । जुन प्रकारको सत्ता र कुर्सीको महामारी छ, त्यसले जनताको जीवन रक्षा, स्वास्थ्य उपचार प्राथमिकतामा पर्न सकेनन् ।
राजनीतिक दलहरू र सरकारका प्राथमिकता सरकार गिराउने टिकाउने, सडकमा नारा घन्काउने उफ्रिने, सांसद किन्ने, बिक्री गर्ने, अपहरण गर्ने, कमिसन माग्ने, अनियमितता गर्ने आदि जस्ता कार्यहरू परे । जनताको कुनै मतलब भएन । जो शक्तिमा छन्, सत्तामा छन् उनीहरूले उपचार पाएकै छन् । उनका आफन्तले हेलिकप्टरमा उद्धार पाएकै छन्, अस्पतालमा बेड पाएकै छन्, अक्सिजन पाएकै छन् तर सर्वसाधारण जनता अस्पतालको चौरमा, गेटमा, घरकै काठोमा अक्सिजन नपाएर मरिरहेका छन् ।
गत पुष महिनादेखि राजनीतिक रूपमा चरम संक्रमित सरकारहरूले फागुन/चैतदेखि तीव्ररूपमा कोरोनाको संक्रमण फैलिएको पत्तै पाएनन् । प्रत्येक टोलटोलमा, गाउँबस्तीमा मानिसहरू संक्रमित छन् जाँच गर्न पाएका छैनन् । उपचार नपाएर मरिरहेका छन् । अस्पतालहरूमा बेड छैन, अक्सिजन छैन, खुला चौरमा बिरामीहरू पालो कुरेर छट्पटाईरहेका छन् । कैयौ बा–आमालाई सन्तान बचाउनु छ, कैयौँ छोराछोरीहरूलाई अभिभावक बचाउनु छ, कैयौं श्रीमान्÷श्रीमतीहरूलाई जीवनसाथी बचाउनु छ । पैसाको खोलो बगाउन तयार छन्, पुरै श्री–सम्पत्ति अस्पतालमा बुझाउन तयार छन् तर आफन्तजनहरू जीवित फर्काउन सफल भएनन् । उता जनता मरुन या बाँचुन मतलब भएन कुर्सी/पद बचाउन पैसाको खोलो बगाए, करोडौंका ब्रिफकेस बुझाए, स्वस्थ मानिस (सांसद) बिरामी बनाई अस्पताल भर्ना गराए, मान्छे बन्धक बनाए सफल भए । केही समय अगाडि पद छोड्छन् पुनः नियुक्ति हुन्छन् । केही मान्छे (माननीय) रिसोर्टमा लैजान्छन् खै के मन्त्र गर्छन् एकैछिनमा समर्थन, समर्थन फिर्ता, तटस्थ बस्ने आदि विज्ञप्ती निस्कन्छन् । यता उनै शासकहरू पदमा आसिन भएकै दिन दशाँै हजार जनता कोभिड संक्रमित हुन्छन्, अढाई सयको मृत्यु हुन्छ तर उनीहरूलाई बालै छैन किनकी उनीहरू विजयी भएका छन्, कुर्सी पाएका छन्, पद पाएका छन् ।
राजनीति टिकाउन, पार्टी फुटाउन, मिलाउन रिमोट अन्तैबाट चल्छ, रेष्टुरेण्ट र रिसोर्टहरूमा रात्रीकालीन भोज गर्छन् । अझ स्वाधिनता, स्वाभिमान र राष्ट्रियताका खोक्रा नारा लगाएर अब्बल राष्ट्रवादी हुने प्रतिस्पर्धा गर्छन् । अब्बल कम्युनिष्टका राष्ट्रवाद, नाकाबन्दीमा प्रतिष्ठा कमाएकाहरूका राष्ट्रवाद, चुच्चे नक्सा जारी गर्ने, सबै सबैका राष्ट्रवादका असली मुकुन्डाहरू यहीबेला देख्न पाइयो । सीमा पारी गएर आफ्नै देशतिर फर्किएर ढुङ्गा हान्ने राष्ट्रवादी नेपाली त हामीले देख्दै र भोग्दै आएका थियाँै । त्यो भन्दा खतरा राष्ट्रवाद यो बेला देखियो । जनता बटुल्न राष्ट्रवादी, सत्ता प्राप्त गर्न लम्पसारवादी । उनीहरूदलाई सत्ता पाउन जे गरे नि छुट नै हुँदो रहेछ । आखिर उनीहरू सधैं शासक हुन् हामी शासित, उनीहरू मालिक हुन् हामी रैती, फरक यही त हो ।
चुनावमा सबैको एउटै नारा हुन्छ हामी जनताको पार्टी, जनताकै लागि लड्दै आएका छौ जनताकै लागि लड्छौ । सबैले पटक–पटक पत्याए पनि होलान् भोट हालेर जिताए, पठाए तर यस्तो महामारीमा जनतातिर कन्नो फर्काएर बसेका छन् । साँच्चिकै जनताका लागि निर्माण भएका पार्टी÷सरकार हुन्थ्यो भने कसैले अकालमै मर्नुपर्ने थिएन । जनताको निम्ति काम गरेको भए पर्याप्त मात्रामा अस्पताल हुन्थे, अस्पतालमा बेड हुन्थे, बेडमा अक्सिजन हुन्थे, भेन्टिलेटर हुन्थे, औषधि हुन्थ्यो, उपचार हुन्थ्यो । केही सीमित ठाउँ बाहेक अन्यत्र कतै प्रबन्ध छैन । उनीहरू आलिसान महलमा आसिन छन, सामाजिक सञ्जालमार्फत घरमै बस्नु सुरक्षित रहनु भन्ने मात्रै सन्देश दिन्छन् तर अक्सिजन दिदैनन् ।
अहिलेको अवस्थामा कोरोना महामारी र राजनीतिक संक्रमण जसरी नेपालमा फैलिएको छ त्यसको नियन्त्रण र निराकरण हुन जरुरी छ । कोरोनाको यो दोस्रो नयाँ लहर भारतबाट सुरु भएको छ जुन विगतको भन्दा निकै खतरापूर्ण छ । मानिसहरूको संक्रमण वृद्धि र मृत्युदर हाम्रो जस्तो सानो मुलुकमा भयानक नै हो । यस्तो अत्यधिक प्रभाव पहिलो चरणको महामारीले पार्न सकेको थिएन । त्यसरी नै राजनीतिक माहोल संक्रमित हुनमा पनि दक्षिणतिर कै ठूलो भूमिका रहेको छ । मध्यरातमा भारतीय गुप्तचर संस्थाका एजेन्टहरू आएपछि राजनीतिक वृत्त यूटर्न हुन्छ । केही मिनेटमै राजनीतिक दलका प्रतिनिधिहरूको बोली परिवर्तन हुन्छ । नेपालको राजनीतिक मामिलामा पटक–पटक दक्षिणी भाइरसले प्रभाव पार्दै आएको थियो, त्यो भन्दा पनि दोब्बर शक्तिशाली भएर अहिलेको राजनीतिलाई संक्रमित पारेको छ । यो बेला कोरोना महामारी जुन गतिमा फैलिरहेको छ, जनताको जीवन तहस नहस पारिरहेको छ, अर्थतन्त्र धराशायी बनाएको छ, यसको पुरै कभर राजनीतिक महामारीले गरेको छ । समाचार, खबर, सामाजिक सञ्जालमा पूरै राजनीतिक चर्चा परिचर्चा यसरी भएको छ कि नेपालमा कोरोना संक्रमण शून्य छ । जनताको चित्कार सुनिएको छैन, आँसु देखिएको छैन ।
यो परिस्थितिमा देखिएको जुन राजनीतिक संक्रमण छ त्यसलाई तुरुन्तै थाती राख्न जरुरी छ । राजनीतिक संक्रमणलाई यही थाती नराखी अझै पनि राजनीतिक दाउपेच मै लाग्ने, सत्ताकै झगडामा अल्झिराख्ने हो भने कोरोना संक्रमण नियन्त्रण हुने सम्भावना छैन । अहिले जो जहाँ छौ, जुन ठाउँमा उभिएका छौ त्यहीबाट कोभिड महामारीको विरुद्धमा एकजुट भएर डटौँ । जुन प्रकारका राजनीतिक आरोप–प्रत्यारोप, घोचपेच चलेका छन्, सरकार गिराउने टिकाउने खेल चलेका छन्, त्यसलाई तरुन्तै थाति राखेर जनताको जीवन रक्षा गर्न ध्यान दिउँ । राजनीतिक चौका दाउ हान्ने अवस्था यो होइन, एकले अर्काेलाई सराप्ने अवस्था हुँदै होइन । दिन प्रतिदिन जनताहरूको जीवन वर्वाद भइरहेको छ, ती कुनै अमुक पार्टीका होइनन्, जनता सबैका साझा हुन् । अझ त्यो भन्दा बढी जनता राज्यका हुन्, सरकारका हुन् । उनीहरूको जीवन रक्षा नै सबै राजनीतिक दलहरू, सरकारहरूको पहिलो प्राथमिकता हुनुपर्छ । तीनै तहका सरकार, राजनीतिक दल, उनीहरूको भ्रातृ संगठन सबैलाई समन्वय र सहकार्यमा लागि परिचालन गर्दै महामारी नियन्त्रणका आवश्यकताहरूको कमी हुन नदिई जीउधनको सुरक्षा गर्नु प्रमुख आवश्यकता हो । कोभिड महामारी नियन्त्रण गर्न सकियो भने, जनताको जीवन रक्षा गर्न सकियो भने, संक्रमित राजनीतिको उपचार गर्न आम जनता चुनावमार्फत लाग्ने नै छन् ।
प्रकाशित मितिः ६ जेष्ठ २०७८, बिहीबार ०५:००
साझा बिसौनी ।