अक्सिजन प्लान्ट स्थापना गर्न माग

कर्णाली प्रदेशमा मेडिकल अक्सिजन उत्पादनका लागि ठूलो क्षमताको प्लान्ट निर्माण गर्न संघीय सरकारसँग माग गरिएको छ । नेकपा एमाले कर्णाली प्रदेशका नेता र एमालेबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्यहरूले प्रदेशमा दैनिक पाँच सय सिलिण्डर भर्ने क्षमताको अक्सिजन प्लान्ट स्थापना गरीदिन संघीय सरकारलाई अनुरोध गरेका हुन् ।

आइतवार एमालेका कर्णाली प्रदेश इञ्चार्ज एवम् प्रदेशसभा संसदीय दलका नेता यामलाल कँडेलसहितको टोलीले स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी र राज्यमन्त्री नवराज रावतलाई भेटी अक्सिजन प्लान्ट स्थापनाको माग राखेका हुन् । सो टोलीमा एमालेका प्रतिनिधिसभा सदस्य ध्रुवकुमार शाही, राजबहादुर बुढा, पार्वती विशुन्के, मोहन बानियाँ र एमाले कर्णाली प्रदेश सह–इञ्चार्ज एवम् प्रदेशसभा सदस्य गुलाबजंग शाह थिए । अक्सिजनको चरम अभावका कारण कर्णालीमा कोभिड संक्रमितको उपचारमा समस्या भएको भन्दै आफूहरूले तत्काल प्लान्ट स्थापनाका लागि संघीय सरकारसँग माग राखेको नेता शाहले बताए ।

‘मन्त्रीज्यूलाई भेटेर यहाँको समस्याबारे अवगत गराइएको छ । लिखित माग–पत्र नै पेस गरेका छौं,’ उनले भने, ‘मन्त्रीज्यूले तत्काल पहल थाल्ने बताउनु भएको छ ।’ दैनिक पाँच सय सिलिण्डर भर्ने क्षमताको अक्सिजन प्लान्ट स्थापना गर्ने, जिल्ला अस्पतालहरूमा पनि प्लान्ट जडान गर्ने र त्यसका लागि बजेट तथा जनशक्ति व्यवस्थापन गरिदिन आफूहरूले माग गरेको उनले जनाए । नेता शाहले मन्त्रालयले कर्णालीका लागि आजै (आइतवार) एक सय थान अक्सिजन सिलिण्डर पनि पठाउने निर्णय गरेको जानकारी दिए ।

प्रकाशित मितिः   ३ जेष्ठ २०७८, सोमबार ०५:००