अक्सिजनको चरम अभाव

लेकवेशी नगरपालिकाकी ४० वर्षीया महिलालाई उपचारका लागि प्रदेश अस्पताल ल्याइयो । कोरोना संक्रमित उनको श्वासप्रश्वासमा समस्या थियो । शुक्रवार बिहान अस्पताल पु¥याइएकी उनलाई प्रदेश अस्पतालमा अक्सिजनसहितको बेड खाली नभएपछि नजिकै रहेको प्रदेश आयुर्वेद औषधालयमा भर्ना गरियो ।

बिहीवार गुर्भाकोट नगरपालिकाका–४३ वर्षीय पुरुषलाई पनि प्रदेश अस्पतालमा अक्सिजन अभाव भएपछि औषधालयको आइसोलेसनमा राखिएको थियो । प्रदेश आयुर्वेद औषधालयका प्रमुख डा. शंकर रिजालले प्रदेश अस्पतालमा अक्सिजनको अभावमा राख्न नसक्ने भएपछि औषधालयको आइसोलेसनमा बिरामी भर्ना गरिएको बताए । उनका अनुसार त्यहाँ पनि मेडिकल अक्सिजनको कमी छ । ‘हामीले आठ जनालाई निरन्तर अक्सिजन दिइरहेका छौं,’ उनले भने, ‘हामीसँग भएकामध्ये आठ वटा सिलिण्डर खालि भइसके । अब तीन वटा मात्र बाँकी छन् । त्यो पनि आजै सकिन्छ होला ।’ अक्सिजन व्यवस्थापन गर्न निकै कठिन भएको उनी बताउँछन् । शुक्रवारसम्म आयुर्वेद अस्पतालमा १४ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । उनले यसरी नै बिरामी थपिँदै गए अक्सिजनको अभावका कारण उपचार गर्न सम्भव नहुने अवस्था देखिएको बताए ।

यस्तै, सल्यान जिल्ला अस्पतालले सीमित अक्सिजनका सिलिण्डर भएकाले नेपालगञ्जबाट भरेर ल्याउनुपर्ने र त्यहाँबाट समयमै नआउँदा उपचारमा समस्या भएको बताएको छ । अस्पताल भर्ना गर्नुपर्ने बिरामीहरूलाई ल्याउँदा सम्पर्क गरेर मात्र आउन भनेको छ । अस्पतालमा कोरोना संक्रमित बिरामीको चाप अत्यधिक छ । अक्सिजन अभावमा कारण उपचारमा कठिनाइ भइरहेको अस्पतालले जनाएको छ । कोरोना संक्रमितका कारण जिल्ला अस्पतालका आइसोलेसन बेड भरिएका छन् । अस्पतालमा १६ शैड्ढयाको आइसोलेसन रहेकोमा गम्भीर अवस्थाका ३८ जना संक्रमित भर्ना भएका छन् । जिल्ला अस्पतालका डा. भीमकान्त जैसीले अक्सिजन नहुँदा जटिल अवस्थाका संक्रमितलाई बाहिर रेफर गर्नुपर्ने बाध्यता रहेको बताए ।

प्रदेश अस्पतालमा मात्रै अहिले दैनिक तीन सय सिलिण्डर अक्सिजन आवश्यक पर्छ । त्यहाँ दुई वटा अक्सिजन प्लान्ट छन् । तर, न्यून मात्रामा अक्सिजन उत्पादन हुन्छ । अस्पतालको उत्पादन बाहेक अहिलेको अवस्थामा यहाँ दैनिक एक सय ५० सिलिण्डर आवश्यक पर्ने भए पनि नेपालगञ्जबाट दैनिक ५० वटा सिलिण्डर मात्र आउने गरेको छ । अस्पतालका कोरोना नियन्त्रण फोकल पर्सन डा. सञ्जिव भण्डारीले नेपालगञ्जबाट आवश्यक अक्सिजन ल्याउन नसकिएकाले चरम अभाव भएको बताए । प्रदेश अस्पतालमा शुक्रवारसम्म दुई वटा भवनमा गरेर ९० जना कोरोना संक्रमणका बिरामीको उपचार भइरहेको छ । नयाँ भवनमा ३८ जनालाई पाइपलाइनबाट अक्सिजन दिइएको छ । ‘अक्सिजन कम भएकाले नयाँ बिरामी भर्ना लिन असमर्थ छौं भनेका हौं, ’डा. भण्डारीले भने । उपचारका लागि बेड र जनशक्ति भए पनि अक्सिजन अभाव हुँदा निकै समस्या भएको उनले बताए ।

जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख चेतननिधि वाग्लेले पनि सुर्खेतमा अक्सिजनको चरम अभाव रहेको बताए । सुर्खेतमा चार–पाँच सयको हारहारीमा दैनिक अक्सिजन सिलिण्डर आवश्यक पर्ने भए पनि माग अनुसार आपूर्ति नहुँदा उपचारमा कठिनाइ भएको उनको भनाइ छ । प्रदेशका अधिकांश स्थानीय तहले कोरोना संक्रमितको उपचारका लागि आइसोलेसन अस्पताल सञ्चालनमा ल्याएका छन् । तर ती आइसोलेसनमा अक्सिजनसहितका बेड छैनन् । बिरामीको अक्सिज कम भए प्रदेश अस्पतालमै रेफर गर्ने गरिएको छ ।

कोरोना संक्रमणको दोस्रो लहर आएसँगै कर्णालीमा संक्रमण र मृत्युदर बढेको छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार शुक्रवारसम्म प्रदेशमा सक्रिय संक्रमितको संख्या पाँच हजार दुई सय ५६ पुगेको छ । तीमध्ये आइसोलेसन सेन्टर तथा कोभिड अस्पतालमा पाँच सय १५ जनाकोे उपचार भइरहेको छ भने चार हजार चार सय ९९ जना होम–आइसोलेसनमा छन् । आईसीयूमा एक सय एक र भेन्टिलेटरमा १० जनाको उपचार भइरहेको निर्देशनालयले जनाएको छ । हालसम्म कर्णालीमा एक सय ३४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

प्रकाशित मितिः   १ जेष्ठ २०७८, शनिबार ०५:०१