निषेधाज्ञा दुई साता थप्ने तयारी

कोरोना संक्रमण नियन्त्रणका लागि सुर्खेतमा जारी निषेधाज्ञा फेरि थपिने भएको छ । १७ दिनदेखि जारी निषेधाज्ञा अझै दुई साता थप्ने तयारी गरिएको हो । दुई साता निषेधाज्ञा थप्ने र थप कडाइ गर्नेगरी तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताए । यसअघि लागु गरिएको निषेधाज्ञाको अन्तिम मिति आज ‐शुक्रवार) आज राती १२ बजे सकिँदै छ । प्रशासन कार्यालयका अनुसार आज रातीदेखि लागुहुने गरी पुनः निषेधाज्ञा लागू गरिने छ ।

जारी निषेधाज्ञा पूर्ण रूपमा कार्यान्वयन नभएको पाइएको भन्दै स्थानीय प्रशासनले अब भने कडाइ गरिने जनाएको छ । कोरोना संक्रमण र मृत्युदर पनि बढ्दै गए पनि स्थानीयले निषेधाज्ञाको अवज्ञा गर्न थालेपछि प्रशासनले थप कडाइ गर्न लागेको हो । यही वैशाख १४ गते पहिलो पटक एक साताका लागि जारी गरिएको निषेधाज्ञा २१ गते पुनः १० दिन थप गरिएको थियो । अहिलेको अवस्था हेर्दा निषेधाज्ञा थपेर कडाइ गर्नुको विकल्प नरहेको प्रजिअ रिजाल बताउँछन् ।

प्रकाशित मितिः   ३१ बैशाख २०७८, शुक्रबार ०५:०४