कांग्रेस रुष्ट

नेपाली कांग्रेसको असन्तुष्टिका कारण कर्णाली प्रदेश सरकारका नवनियुक्त तीन जना मन्त्रीको सपथ रोकिएको छ । बिहीवार ११ बजेका लागि निर्धारित मन्त्रीहरूको सपथ ग्रहण कार्यक्रम कांग्रेस रुष्ट बनेपछि स्थगित भएको हो । प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनी र मुख्यमन्त्री महेन्द्रबहादुर शाहीबीच बिहीवार बिहान भेटपछि तय गरिएको सपथ कार्यक्रम स्थगित गरिएको थियो । मन्त्रिमण्डल हेरफेरमा सहमतिविपरीत गएको भन्दै कांग्रेसले असन्तुष्टि जनाएपछि मुख्यमन्त्री सपथ ग्रहण रोक्न बाध्य भएका हुन् ।

मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएर सत्ता जोगाइदिएको कांग्रेसले दुई वटा मन्त्रालय मागेको छ । तर, उनले एक मन्त्रालय समेत थप गरी आफ्नै पार्टी माओवादी केन्द्रका तीन मन्त्री नियुक्त गर्ने निर्णय गरेका छन् । खाली रहेको एक मात्र सामाजिक विकास मन्त्रालय कांग्रेसलाई दिने सोचमा मुख्यमन्त्री छन् । जसका कारण कांग्रेस असन्तुष्ट बनेको होे । सामाजिक विकास मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री आफैले सम्हाल्दै आएका छन् । कांग्रेस प्रदेशसभा सदस्य दिनबन्धु श्रेष्ठले आफूहरूले दुई वटा मन्त्रालय पाए मात्र सरकारमा सहभागी हुने बताए ।

मुख्यमन्त्री शाहीले बुधवार आर्थिक मामिला तथा योजनामन्त्रीमा गोपाल शर्मा, आन्तरिक मामिला, कानुन, युवा तथा खेलकुद मन्त्रीमा विन्दमान विष्ट र जलस्रोत तथा ऊर्जा विकासमन्त्रीमा सीता नेपालीलाई नियुक्त गरेका थिए । भौतिक पूर्वाधार विकास मन्त्रालय टुक्य्राएर बनेको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयमा नेपालीलाई नियुक्त गरिएको हो । बुधवारकै मन्त्रिपरिषद् बैठकले प्रदेश सरकार (कार्यविभाजन) नियमावली–२०७४ को अनुसूची १ र २ संशोधन गरी एउटा मन्त्रालय थपे पनि त्यसमा माओवादी केन्द्रकै सांसदलाई मन्त्री बनाउने निर्णय गरिएको थियो ।

प्रकाशित मितिः   ३१ बैशाख २०७८, शुक्रबार ०५:००