जितिन्छ कोरोना
कोरोना भाइरस (कोभिड–१९) संक्रमित र मृत्यु हुनेको संख्या हरेक दिन बढ्दै छ । कर्णाली प्रदेशमा मात्रै कोरोनाबाट मृत्यु हुनेको संख्या एक सय नाघेको छ । देशभरको तथ्याङ्क हेर्दा चार हजार नाघिसकेको छ । संक्रमित र मृत्युको खबरले जताततै त्रास छ । नागरिकहरू आक्रान्त बनेका छन् । यद्यपि संक्रमितको संख्या मात्रै होइन त्यसबाट मुक्त हुनेहरूको संख्या पनि बढ्दो मात्रामा छ । पछिल्लो समय कर्णाली प्रदेशमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या बढेको छ । अस्पतालमा उपचाररत संक्रमित हुन् या होम आइसोलेसनमा बसेका संक्रमितहरू निको हुने दर बढेको हो । यसले आशाको सञ्चार गराएको छ । संक्रमण हुँदैमा डराउनुपर्ने वा आत्तिनु हुँदैन भन्ने सन्देश प्रवाह गरेको छ । तथापि संक्रमण हुनै नदिन र भएमा सावधानी अपनाउनुपर्ने कुरालाई भने भुल्नु हुँदैन ।
पछिल्लो तीन सातामा कर्णाली प्रदेशमा मात्रै एक हजार दुई सय बढीले कोरोना जितेका छन् । वैशाख २ गते प्रदेशभर तीन जना संक्रमणमुक्त भएका थिए । त्यसयता दैनिक संक्रमणमुक्त हुनेको संख्या बढ्दै गएको छ । जति ठूलो संख्यामा संक्रमित भेटिन्छन्, त्यसको १०–१२ दिनपछि त्यति नै संख्यामा संक्रमणमुक्त हुने गरेका हुन् । अर्थात् निको भएका छन् । वैशाख लागेयता संक्रमण र मृत्युदर अलि बढी देखिए पनि कोरोना जित्नेको संख्या उल्लेख्य रहेको प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ । अहिले दैनिक ६० देखि करिब तीन सयको संख्यामा संक्रमितहरू कोरोनामुक्त हुने गरेका छन् । यसले के देखाउँछ भने सुरूमा संक्रमितमात्रै थपिँदा संक्रमण दर उच्च देखिए पनि विस्तारै निको हुने दर पनि वृद्धि भएको हो । प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्याङ्कअनुसार वैशाख महिनाको तेस्रो सातादेखि कोरोना जित्नेहरूको संख्या बढेको हो ।
संक्रमणको दर र मृत्यु हुनेहरूको संख्या मात्रै बाहिर आउँदा नागरिक त्रसित भएका छन् । तर सँगसँगै भुल्न नहुने के छ भने अहिले निको हुनेको संख्या पनि तीव्र गतिमा बढिरहेको छ । संक्रमणमुक्त हुनेहरूको संख्या दैनिक बढ्दो क्रममा छ । आवश्यक सतर्कता अपनाउने र स्वास्थ्य सुरक्षाका मापदण्डहरू पालना गर्ने हो भने कोरोनाबाट सजिलै बच्न सकिन्छ । तर लापरवाही र हेलचक्य्राइँ भने गर्नु हुँदैन । स्वास्थ्यकर्मीहरूको पनि यही सुझाव छ । स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउने, स्वास्थ्यकर्मीहरूको सल्लाह लिने, सरसफाइ र खानपानमा ध्यान दिने तथा आत्मविश्वास बढाए कोरोना जित्न सकिने विज्ञहरूले बताउने गरेका छन् । त्यसैले यसतर्फ सचेत हुन जरुरी छ । संक्रमण नियन्त्रण तथा रोकथामका लागि भनेर अधिकांश जिल्लाहरूमा निषेधाज्ञा जारी गरिएको छ । नागरिक सुरक्षाका लागि नै निषेधाज्ञा गरिएको हो । जसको पूर्ण पालना हुन सके संक्रमण दर पनि घट्दै जाने छ । किनभने संक्रमणको जोखिम घटाउनु नै सबैभन्दा उत्तम उपाय हो । यसका लागि हरेक नागरिक आफै सचेत हुन जरुरी छ ।
प्रकाशित मितिः ३० बैशाख २०७८, बिहीबार ०९:२८
साझा बिसौनी ।