प्रदेश प्रमुख र मुख्यमन्त्रीबीच भेटवार्ता

कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीज्यू र मुख्यमन्त्री महेन्द्रबहादुर शाहीबीच मंगलवार दिउँसो प्रदेश प्रमुखको कार्यालयमा भेटवार्ता भएको छ । प्रदेश प्रमुखको सचिवालयका अनुसार उनीहरूको यो नियमित भेट भए पनि कोरोना महामारी नियन्त्रण र प्रतिकार्यको लागि प्रदेश सरकारले गरिरहेका प्रयास र गतिविधिको बारेमा छलफल केन्द्रित थियो । प्रदेश प्रमुखले त्यसबारे मुख्यमन्त्रीसँग चासो व्यक्त गरेका हुन् ।

सोही सन्दर्भमा प्रदेश प्रमुख कलौनीले प्रदेश सरकारलाई सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा निर्देशनालय, विभिन्न अस्पतालहरू तथा स्थानीय सरकारसँग सहकार्य गरी कोभिडको महामारी फैलिन नदिनेगरी प्रयासहरू थाल्न सुझाएका छन् । मुख्यमन्त्री शाहीले कोभिड–१९ रोकथाम, नियन्त्रण, उपचार, प्रतिकार्य तथा स्वास्थ्य पूर्वाधार सुदृढीकरणका लागि प्रदेश सरकारले पर्याप्त बजेट विनियोजन गरेको बताएका थिए । भेटमा प्रदेश प्रमुखले कोभिड प्रतिकार्यमा प्रदेश सरकारले गरिरहेका प्रयास सन्तोषजनक रहेको बताउँदै परीक्षण र स्वास्थ्य पूर्वाधारको व्यवस्थापनमा निरन्तर जुट्न सुझाव दिएका थिए ।

प्रकाशित मितिः   २९ बैशाख २०७८, बुधबार ०५:००