आपराधिक घटनामा बढोत्तरी

कोरोना संक्रमण तीव्र रूपमा फैलिन थालेपछि रोकथाम र नियन्त्रणका लागि कर्णाली प्रदेशका सबै जिल्लामा अहिले स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेका छन् । निषेधाज्ञाको यही समयमा आपराधिक गतिविधि भने बढेका छन् । लागूऔषध कारोबार, चोरी र आत्महत्याजस्ता घटनामा बढोत्तरी भएको प्रहरीले जनाएको छ ।

वैशाख २४ गते शुक्रवार जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागूऔषध (ब्राउनसुगर) सहित तीन जनालाई नियन्त्रणमा लियो । शुभकालिका गाउँपालिका–६ की २६ वर्षीय सकुन्तला शाहीलाई वीरेन्द्रनगर–३ मसुरीखेतबाट नौ सय मिलीग्राम लागूऔषधसहित प्रहरीले पक्राउ ग¥र्यो । सोही दिन बेलुकी मसुरीखेतबाटै दैलेख चामुण्डा विन्द्रासैनी–९ स्थायी घर भइ हाल वीरेन्द्रनगर–३ बस्ने १९ वर्षीय पारस रावल र मसुरीखेतकै १८ वर्षीय समिर चन्द पनि पक्राउ परे । उनीहरूका साथबाट दुई सय मिलीग्राम ब्राउनसुगर बरामद गरिएको प्रहरीले जनाएको छ ।

वैशाख २२ गते पनि लागूऔषध (ब्राउनसुगर) सहित दुई जनालाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले पक्राउ गरेको थियो । वीरेन्द्रनगरको नयाँ बसपार्क नजिकबाट दैलेखको डुङ्गेश्वर गाउँपालिकाका २५ वर्षीय हिमाल आले मगर र वीरेन्द्रनगर–४ का १९ वर्षीय धिरज खत्रीलाई ४१ पुडिया (चार ग्राम) लागूऔषधसहित प्रहरीले पक्राउ गरेको हो । निषेधाज्ञाको समयमा प्रहरीले सक्रियता बढाएपछि लागूऔषध प्रयोगकर्ता तथा कारोबारीहरू धमाधम पक्राउ पर्ने गरेका छन् ।

वैशाख दोस्रो सातादेखि चोरी र आत्महत्याका घटना समेत बढेको प्रहरी तथ्याङ्क छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतले यही वैशाख १४ गतेदेखि निषेधाज्ञा लागू गरेको हो । यही बेला विभिन्न प्रकृतिका अपराधका घटना बढेको प्रहरीले जनाएको छ । वैशाखयता मात्र सुर्खेतमा नौ वटा चोरीका घटना भएका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कनक शाहीका अनुसार २०७७ कार्तिक, मंसिर र पुस महिनामा गरी २५ वटा चोरीका घटना भएका थिए । चोरीबारे धेरै गुनासा आउन थालेपछि नियन्त्रणका लागि प्रहरीले कार्ययोजना नै निर्माण गरी अघि बढेको उनी बताउँछन् । ‘हामीले माघदेखि कार्ययोजना बनाएरै चोरी नियन्त्रणमा लागेका छौं,’ प्रहरी निरीक्षक शाहीले भने । प्रहरीले सक्रियता बढाएपछि चोरीका घटनामा केही कमी आएको समेत उनको दाबी छ । निषेधाज्ञाको अवधिमा भने फेरि चोरीका घटना बढेको उनी बताउँछन् ।

प्रहरीका अनुसार पहिले सहरी क्षेत्रमा मात्रै चोरीका घटना हुनेगरेकोमा हाल ग्रामीण क्षेत्रमा पनि घटना हुन थालेका छन् । निषेधाज्ञाको समयमा मानिसहरूको चहलपहल कम हुने हुँदा घरमूली नभएका घरहरूबाट बहुमूल्य गहनासहितका सामग्री चोरी हुने गरेको छ ।

त्यस्तै, यो अवधिमा आत्महत्याका घटना समेत बढेको प्रहरीको तथ्याङ्क छ । दुई साताको समयमा वीरेन्द्रनगरकै तीन जनाले आत्महत्या गरेका छन् । वैशाख लागेयता सुर्खेतमा सात जनाले आत्महत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार २०७७ को कार्तिक महिनादेखि चैत मसान्तसम्म जिल्लामा ५७ जनाले आत्महत्या गरेका छन् । प्रदेशका अन्य जिल्लामा समेत आत्महत्याको दर उच्च रहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मितिः   २७ बैशाख २०७८, सोमबार ०५:०५