३० अर्बको बजेट ल्याउने तयारी

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८÷०७९ को बजेटबारे तयारी थालेको छ । प्रदेश सरकारले आगामी वर्षका लागि ३० अर्ब हाराहारीको बजेट ल्याउने तयारी गरेको हो । चालु आर्थिक वर्ष सकिन झण्डै दुई महिना बाँकी रहँदा सरकार आगामी बजेटको तयारीमा जुटेको छ । बजेट तर्जुमाका लागि विषयगत मन्त्रालयहरूले गृहकार्य सुरू गरेका छन् ।

कर्णाली सरकारले चालु आर्थिक वर्षमा ३३ अर्ब ७४ करोड १३ लाख ५३ हजार रूपैयाँ बराबरको बजेट ल्याएको थियो । चैत मसान्तसम्म कुल बजेटको १८ प्रतिशत मात्रै बजेट खर्च भएको छ । जेठ १५ गते संघीय सरकार र असार १ गते प्रदेश सरकारले बजेट ल्याइसक्नुपर्ने संवैधानिक व्यवस्था छ । प्रदेश सरकारले सोही अनुसार बजेटको तयारी गरेको हो । आर्थिक मामिला तथा योजना मन्त्रालयले अन्य मन्त्रालयहरूलाई बजेटको सिलिङ पठाइसकेको जनाएको छ ।

आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव चक्रबहादुर बुढाले आगामी बजेट ३० अर्बको सेरोफेरोमा आउने बताए । विषयगत मन्त्रालयहरूलाई सिलिङसहित बजेट तर्जुमा मार्गदर्शन पठाइसकिएको उनले जनाए । कर्णालीमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित सात वटा मन्त्रालय छन् । सचिव बुढाका अनुसार मन्त्रालयहरूलाई बजेटसँगै मध्यकालीन खर्चसम्बन्धी संरचना तयार गर्न पनि भनिएको छ । ‘बजेट तर्जुमाका लागि सरकारले तयारी गरिरहेको छ । कर्मचारीहरूलाई अभिमुखीकरण गर्ने र सम्बन्धित मन्त्रालयमा बजेटको सिलिङ पठाउने काम भइसकेको छ,’ उनले भने । मन्त्रालयहरूबाट मोटामोटी खाका आइसकेपछि कतिसम्मको बजेट ल्याउने भन्ने एकिन हुने सचिव बुढा बताउँछन् । उनी भन्छन्, ‘३० अर्बकै सेरोफेरोमा बजेट ल्याउने अनुुमान गरेका छौं ।’ बजेट आउनु अघि सरकारले नीति तथा कार्यक्रम ल्याउँछ । नीति तथा कार्यक्रम, प्रदेशको पञ्चवर्षीय योजना र १५औं राष्ट्रिय पञ्चवर्षीय योजनामा रहेका प्राथमिकतालाई समेत समेटर बजेट तर्जुमा गर्ने गरी सरकारको तयारी छ ।

विषगत मन्त्रालयहरूले पनि आर्थिक मामिला तथा योजना मन्त्रालयले पठाएको सिलिङ अनुसार बजेट तर्जुमाको कार्य भइरहेको बताएका छन् । चालु बजेट कोरोना भाइरस (कोभिड–१९) को महामारी नियन्त्रणमा केन्द्रित गरिएको थियो । अहिले पनि कोरोना महामारी कायमै रहेकाले आगामी बजेट समेत यसमै केन्द्रित गरिने भएको छ । कोरोना नियन्त्रण, पूर्वाधार, उत्पादनमूलक रोजगारी, भोकमरी अन्त्य र सुशासन कायम गर्ने जस्ता विषयमा केन्द्रित भएर बजेट ल्याइने सरकारको भनाइ छ । आगामी वर्षका लागि संघीय सरकारबाट १७ अर्बको बजेट सिलिङ प्राप्त भएको प्रदेश सरकारले जनाएको छ ।

प्रकाशित मितिः   २७ बैशाख २०७८, सोमबार ०५:०२