एकैदिन दुई सय बढी संक्रमणमुक्त

सुर्खेतमा मात्रै दुई हजार एक सय ४४ ‘एक्टिभ केस’

कर्णाली प्रदेशमा शनिवार दुई सय ४७ जना कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मुक्त भएका छन् । योसहित प्रदेशभर हालसम्म कोरोना संक्रमण भएर निको हुनेको संख्या आठ हजार ४४ पुगेको छ । शनिवार थप चार सय १४ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ । आरटी–पीसीआर तथा रेपीड एन्टिजेन विधिबाट गरिएको परीक्षणमा सो संख्यामा संक्रमित भेटिएका हुन् । आरटी–पीसीआर विधिबाट चार सय ७१ जनामा परीक्षण गर्दा दुई सय ९३ र रेपीड–एन्टिजेन विधिबाट दुई सय ४७ जनाको परीक्षण गरिँदा एक सय २१ जनामा कोरोना पुष्टि भएको हो । योसँगै प्रदेशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या तीन हजार आठ सय १८ पुगेको छ ।

कर्णाली प्रदेशभर कोरोना भाइरसका सक्रिय संक्रमित तीन हजार आठ सय १८ हुँदा सुर्खेत जिल्लामा मात्रै दुई हजार एक सय ४४ सक्रिय संक्रमित रहेका छन् । त्यसमा पनि प्रदेश राजधानी वीरेन्द्रनगरमा सबैभन्दा बढी संक्रमित छन् । जिल्लामा दुई हजार ६० जना होम–आइसोलेसनमा रहेको निर्देशनालयले जनाएको छ । त्यस्तै शनिवार नै थप दुईजनाले कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाएका छन् । योसँगै कर्णाली प्रदेशमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या संख्या ८२ पुगेको छ ।

प्रकाशित मितिः   २६ बैशाख २०७८, आईतवार ०५:००