निषेधाज्ञामा थप कडाइ

विवाह, व्रतबन्ध र मृत्यु संस्कारमा १० जनाभन्दा बढी सहभागी हुन नपाउने, सार्वजनिक एवम् निजी सवारी साधन सञ्चालनमा पूर्णरूपमा रोक

कोरोना संक्रमण रोकथामका लागि सुर्खेतमा जारी निषेधाज्ञा १० दिन थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतले मंगलवार एक सूचना जारी गरी निषेधाज्ञा थप गरेको जनाएको हो । यसअघि यही वैशाख १४ गते राती १२ बजेदेखि २१ गते (मंगलवार राती १२ बजे) सम्म निषेधाज्ञा गरिएको थियो । मंगलवार पुनः वैशाख ३१ गते रातीसम्मका लागि निषेधाज्ञा लागू गरिएको हो । कोरोना संक्रमण तीव्र बन्दै गएकाले संक्रमणको ‘चेन बे्रक’ गर्न १० दिन निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताए । उनका अनुसार अबको निषेधाज्ञामा थप कडाइ गरिने छ । जारी निषेधाज्ञा फितलो भएको जनगुनासो बढेसँगै प्रशासनले दोस्रो चरणमा कडाइ गर्न लागेको हो ।

विवाह, व्रतबन्ध र मृत्यु संस्कारमा १० जनाभन्दा बढी सहभागी हुन नपाउने, सार्वजनिक एवम् निजी सवारी साधन सञ्चालनमा पूर्णरूपमा रोक

निषेधाज्ञाको अवज्ञा गरे एक महिनासम्म कैद वा एक सय रूपैयाँ जरिवाना र कार्यान्वयनमा बाधा पु¥याउनेलाई एक महिना कैद वा ६ सय जरिवाना हुने स्थानीय प्रशासनले जनाएको छ । प्रशासन कार्यालयले निषेधाज्ञाको अवधिमा विवाह, व्रतबन्ध र मृत्यु संस्कारमा स्वास्थ्य मापदण्ड पालना गरेर १० जना मात्रै सहभागी हुन पाउने बताएको छ । अत्यावश्यक सेवा सञ्चालनमा समेत सीमित जनशक्तिको व्यवस्थापन गर्नुपर्ने, सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी र मनोरञ्जन स्थलहरू पूर्णरूपमा बन्द गर्नुपर्ने प्रशासनद्वारा जारी सूचनामा उल्लेख छ ।

त्यस्तै, सार्वजनिक एवम् निजी सवारी साधन सञ्चालनमा पूर्णरूपमा रोक लगाउने प्रशासनले जनाएको छ । अबदेखि अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारी साधनलाई चालकसहित दुई जना र बिरामी तथा कुरुवा बोकेका एम्बुलेन्समा चालकसहित बढीमा तीन जनाले मात्रै यात्रा गर्न पाउने छन् ।

प्रकाशित मितिः   २२ बैशाख २०७८, बुधबार ०५:०२