कोरोना प्रतिकार्यमा पालिका: आइसोलेसन बने, स्वास्थ्यकर्मी छैनन्

कोरोना प्रतिकार्यमा पालिका


कोरोना भाइरस (कोभिड–१९) का संक्रमितको संख्या बढ्दै गएपछि अहिले अस्पतालहरूमा बेड नपाइने अवस्था छ । संक्रमितको उपचारलाई सहज बनाउन स्थानीय तहहरूले धमाधम आइसोलेसन अस्पतालहरू सञ्चालनमा ल्याउन थालेका छन् । पालिकाहरूले कोरोना रोकथाम र उपचार व्यवस्थापनलाई तीव्रता दिएका हुन् । सुर्खेतका नौ वटै पालिका कोरोना प्रतिकार्यमा जुटेका छन् । पालिकाहरूले अक्सिजनसहितका आइसोलेसन बेड तयारी अवस्थामा राखेका छन् । तर, डाक्टर तथा अन्य स्वास्थ्यकर्मीको अभावमा भने संक्रमितको उपचारमा कठिनाइ भएको छ ।

पछिल्लो समय संक्रमितमध्ये अधिकांश लक्षणसहितका छन् । जटिल समस्या देखिएका बिरामीलाई अक्सिजन दिएर मात्रै उपचार गर्ने गरिएको छ । प्रदेशभर सबैभन्दा बढी सक्रिय संक्रमित सुर्खेतमा छन् । मंगलवारसम्म यहाँ मात्रै एक हजार तीन सय बढी कोरोनाका ‘एक्टिभ’ केश छन् । कोरोना विशेष अस्पतालहरूमा समेत बेड नपाएर संक्रमितको ज्यान जाने अवस्था आएपछि स्थानीय सरकार आफै अस्पताल निर्माणमा जुटेका हुन् । स्थानीय तहले अक्सिजनसहितका आइसोलेसन बेड तयार पारेर संक्रमितको उपचार गर्न थाले पनि स्वास्थ्यकर्मीको अभाव झेल्नु परेको बताएका छन् ।

गुर्भाकोट नगरपालिकाले मेहलकुना अस्पतालसँग समन्वय गरी त्यहाँस्थित सिटी हलमा २५ बेडको अस्पताल सञ्चालनमा ल्याएको छ । नगर प्रमुख हस्त पुनले अक्सिजनसहितको आइसोलेसन कक्ष निर्माण गरिएको बताए । उनकाअनुसार त्यहाँ अहिले १३ वटा मात्रै अक्सिजनका सिलिण्डर छन् । सबै बेडमा पुग्नेगरी अक्सिजन व्यवस्थापनमा लागिएको उनी बताउँछन् । तत्काल केही बिरामीलाई भए पनि अक्सिजन दिएर उपचार गर्न सकिने गरी तयारी भएको उनले बताए । मंगलवारसम्म गुर्भाकोटमा ४६ जना कोरोनाका सक्रिय संक्रमित छन् । उनीहरू सबै होम आइसोलेसनमा रहेको प्रमुख पुनले जनाए ।

यस्तै, सिम्ता गाउँपालिकामा ५० बेडको अक्सिजनसहितको आइसोलेसन अस्पताल सञ्चालन गर्ने तयारी गरिएको छ । गाउँपालिकामा मंगलवारसम्म १८ जना संक्रमित छन् । उनीहरूको स्वास्थ्य अवस्था सामान्य भएकाले होम–आइसोलेसनमै बसेको गाउँपालिकाका अध्यक्ष कविन्द्र केसीले बताए । ‘हामीले अक्सिजनसहितको आइसोलेसन तयारी अवस्थामा राखेका छौं,’ उनले भने, ‘संक्रमितको स्वास्थ्यमा समस्या आए गाउँपालिकाले बनाएको आइसोलेसनमा उहाँहरूको उपचार गरिने छ ।’ उनले यसबाहेक आरटी–पीसीआर परीक्षणका लागि स्वाब संकलन, एन्टिजेन विधिबाट परीक्षणलगायतका काम भइरहेको बताए । सिजनल फ्लूका अन्य बिरामी हुन नदिनका लागि पनि जनप्रतिनिधि र स्वास्थ्यकर्मीको टोली बनाइ जनचेतनाका लागि घरदैलो अभियान समेत थालिएको अध्यक्ष केसी जनाए ।

चिङ्गाड गाउँपालिकामा १५ बेडको आइसोलेसन बनाइएको छ । सबै बेड अक्सिजनसहितका छन् । पाँच बेडको छुट्टै कोरोना अस्पताल पनि सञ्चालनमा रहेको गाउँपालिकाले जनाएको छ । अहिले त्यहाँ सात जनाको आइसोलेसनमा उपचार भइरहेको छ । ४० जना संक्रमित होम–आइसोलेसनमा छन्  । वीरेन्द्रनगर नगरपालिकाले कटकुवा स्वास्थ्यचौकीमा ५० बेडको अक्सिजनसहितको आइसोलेसन बेड तयार गर्ने गरी काम अघि बढाएको छ । उपप्रमुख मोहनमाया ढकालले अबको एक÷दुई दिनमा २५ बेडको अक्सिजनसहितको आइसोलेसन सञ्चालनमा ल्याइने बताइन् । वीरेन्द्रनगरले प्रत्येक वडामा रहेका स्वास्थ्य संस्था प्रमुखलाई फोकल पर्सन तोकेर कोरोना संक्रमितको निगरानी गरिरहेको छ । उपप्रमुख ढकालले अक्सिजनसहितको निःशुल्क एम्बुलेन्स सेवा पनि सुरू गरिएको बताइन् ।

त्यस्तै, पञ्चपुरी नगरपालिकाले पनि १० बेडको अक्सिजनसहितको आइसोलेसन बेड तयारी गर्न थालेको छ । नगर प्रमुख उपेन्द्र थापाका अनुुसार अहिले पाँच बेडको अस्थायी कोरोना अस्पतालमा एउटा बेडमा मात्र अक्सिजनको व्यवस्था गरिएको छ । अक्सिजन सिलिण्डर खरिद र स्वास्थ्य जनशक्तिको व्यवस्थापनमा आफूहरू लागिरहेको उनले बताए ।

पश्चिम सुर्खेतको चौकुने गाउँपालिकामा पनि पाँच बेडको अक्सिजनसहितको आइसोलेसन तयारी अवस्थामा राखिएको छ । जनस्वास्थ्य अधिकृत गगन पाण्डेले यसको विस्तार गर्दै ५० बेड पु¥याउने लक्ष्य लिएको बताए । पाण्डेका अनुसार अहिले उक्त आइसोलेसनमा दुई जना उपचाररत छन् भने तीन जना संक्रमित होम–आइसोलेसनमा रहेका छन् ।

भेरीगंगा नगरपालिकाले एक करोड एक लाखको कोरोना कोष स्थापना गरेको छ । पालिकाले कोरोना प्रतिकार्यमा रकम खर्च गर्नेगरी कोष बनाएको हो । औषधि र अक्सिजन सिलिण्डर खरिदका लागि प्रक्रिया अघि बढाएको नगरपालिकाले जनाएको छ । पालिकाका कोरोना फोकल पर्सन धिरेन्द्र घर्तीले अहिले तत्काल अक्सिजनसहितका दुई बेड तयारी अवस्थामा राखिएको र केही दिनभित्र १५ बेड आइसोलेसन सञ्चालमा ल्याइने बताए । भेरीगंगामा ४२ जना संक्रमित होम आइसोलेसनमा छन् ।

स्थानीय तहमा चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीको निकै अभाव छ । डाक्टर नहुँदा बनाएका आइसोलेसन अस्पतालहरू सञ्चालनमा समस्या भएको हो । स्थानीय तहले अक्सिजनसहितका बेड तयार गरे पनि उपचारमा भने कठिनाइ हुने गरेको छ । गाउँमै आइसोलेसन तयार गरिए पनि स्वास्थ्यकर्मी नहुँदा बिरामीलाई प्रदेश अस्पतालमा रिफर गर्नु परिरहेको पालिकाहरूले जनाएका छन् । पञ्चपुरी नगरपालिकाका प्रमुख उपेन्द्र थापाले तल्लो तहका स्वास्थ्यकर्मी भए पनि मेडिकल अधिकृतहरूको अभाव रहेको बताए । ‘हामीसँग स्वास्थ्य पूर्वाधारका संरचना बनेका छन् । संरचना र सुविधा मात्रै भएर नहुँदो रहेछ । उपचार गर्ने डाक्टरको अभाव छ,’ उनी भन्छन् । अध्यक्ष थापाले यसअघि डाक्टरका लागि विज्ञापन गर्दा कोही पनि सम्पर्कमा नआएको बताए । ‘कोही डाक्टर आइहाल्नुहुन्छ कि भनेर फेरि विज्ञापन खोलेका छौं,’ उनले भने ।

चिङ्गाड गाउँपालिकाले पनि स्वास्थ्यकर्मीका लागि विज्ञापन आह्वान गरेको छ । गाउँपालिकाले अहेब, अनमी र ल्याब असिस्टेन्टका लागि विज्ञापन खोलेको निमित्त प्रमुख प्रशासकीय अधिकृत दीर्घबहादुर बुढा मगरले जानकारी दिए । चौकुने गाउँपालिकामा डाक्टर नहुँदा आइसोलेसन हेर्ने गरी दुई जना स्टाफ नर्स राखिएको छ । कोभिड बिरामीको उपचारका लागि डाक्टरको व्यवस्थापन गर्न हम्मेहम्मे परेको पालिकाले जनाएको छ ।

प्रकाशित मितिः   २२ बैशाख २०७८, बुधबार ०५:००