पूर्वाधार विकास अपरिहार्य

देश कोरोना महामारीले आक्रान्त छ । संक्रमितको संख्या तीव्र गतिमा बढ्दैछ । मृत्युदर पनि डरलाग्दोगरी बढेको छ । अस्पतालहरू संक्रमितले भरिएका छन् । नयाँ बिरामी भर्ना गर्न बेडको अभाव सिर्जना भइरहेको छ । अस्पतालका प्राङ्गण र कोलियाहरूमा राखेर बिरामी उपचार भइरहेका कहाली लाग्दा दृष्य समाचारहरूमा सार्वजनिक भइरहेका छन् । त्यसमाथि गम्भीर बिरामीहरू अक्सिजन नपाएर ज्यान गुमाइरहेका छन् । यो कहालीलाग्दो अवस्थाको अन्त्य तत्काल हुने संकेत देखिएको छैन । जोखिम बढ्दै छ । अवस्था झन् जटिल बनिरहेको छ । तर जटिल अवस्थासँग जुध्न हाम्रा स्वास्थ्य संरचनाहरूको अभाव छ । पर्याप्त पूर्वाधार छैन । जनशक्तिको अभाव उस्तै छ । यी यावत समस्याहरूकाबीच कोरोना संक्रमण र मृत्युदर उकालो लागिरहेको छ ।

कर्णाली प्रदेशको अवस्था थप जटिल र जोखिमयुक्त छ । यहाँ विगतदेखि नै स्वास्थ्य पूर्वाधार छैनन् । सिकिस्त संक्रमितहरू थपिने क्रम बढेपछि उपचारको प्रबन्ध मिलाउन समेत समस्या भएको छ । सुर्खेतस्थित प्रदेश अस्पतालले १० वटै जिल्लाका बिरामीको चाप खेप्नुपर्छ । अन्य जिल्लामा जटिल समस्या देखिएका संक्रमितहरूलाई प्रदेश अस्पतालमा रिफर गर्ने गरिएको छ । जटिल प्रकृतिका संक्रमितका लागि अत्यावश्यक अक्सिजन, आईसीयू र भेन्टिलेटर जस्ता सेवाहरू कर्णालीमा पर्याप्त छैनन् । समयमै आवश्यक पूर्वाधारको विकास नगर्दा अहिले समस्या भएको छ । यो विगतमा गरिएको बेवास्ताले उब्जिएको समस्या हो । स्वास्थ्य क्षेत्रको विकासका लागि बर्सेनि सरकारले ठूलो रकम छुट्याउँछ । तर खर्च हुन सक्दैन । यो नियति दोहोरिरहन्छ । स्वास्थ्य संरचना निर्माण हुँदैनन् । अहिलेजस्तै महामारीको समयमा आपत आइलाग्छ ।

विगतबाट पाठ सिक्न अपरिहार्य छ । ढिलै भए पनि कर्णाली प्रदेश सरकारले स्वास्थ्य पूर्वाधार सुधारमा ध्यान दिन खोजेको छ । पूर्वाधार र जनशक्ति अभावमा संक्रमितहरूले उपचार नपाउने अवस्था आएपछि प्रदेश सरकारले विकास बजेट कटौती गरी कोभिड प्रतिकार्यमा खर्च गर्न थालेको छ । जनशक्ति व्यवस्थापनसँगै प्रदेश अस्पताल, कोरोना रणनैतिक अस्पतालहरू र जिल्ला अस्पतालहरूमा अक्सिजनसहितका आइसोलेसन बेड थप्ने तयारी गरिएको छ । संक्रमितको उपचारका लागि विशेष अस्पताल र आइसोलेसन कक्षको स्थापना तथा सञ्चालन गरिने भएको छ । सुर्खेतस्थित प्रदेश अस्पतालमा तत्काल अक्सिजनसहितका एक सय बेड आइसोलेसन बनाउन लागिएको छ । केही दिनभित्र उक्त बेड संख्या बढाएर पाँच सय पु¥याउने लक्ष्य प्रदेश सरकारले लिइएको छ । त्यस्तै, दैलेख, कालीकोट, जाजरकोट, रुकुम–पश्चिममा अक्सिजनसहित एक÷एक सय बेड र अन्य जिल्लामा ५०÷५० बेड तयार गरिने भएको छ । समस्या परिसकेपछि मात्रै तयारी थाल्ने विगतदेखि कै नियति हो । यसमा सुधार हुन जरुरी छ । तर अब भने ढिला नगरिकन आवश्यक स्वास्थ्य पूर्वाधार सुधार, विकास, विस्तारका साथसाथै जनशक्ति र उपकरणको व्यवस्थापमा सरकारको ध्यान पुग्नुपर्दछ । पूर्वाधार र जनशक्तिको व्यवस्थापनले जुनसुकै समयमा आइपर्ने महामारीलगायत अन्य स्वास्थ्य समस्याहरूसँग जुध्न सजिलो हुन्छ । त्यसकारण पूर्वाधार निर्माण अपरिहार्य छ ।

प्रकाशित मितिः   २२ बैशाख २०७८, बुधबार ०५:००