हालसम्मकै धेरै संक्रमित पुष्टि

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणदर उच्च बन्दै गएको छ । सोमवार देशभर सात हजार तीन सय ८८ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको १६ हजार ६ सय ५८ पीसीआर र एन्टिजेन परीक्षणबाट सात हजार तीन सय ८८ जनामा संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या तीन लाख ४३ हजार चार सय १८ पुगेको छ । कुल संक्रमितमध्ये ५४ हजार ४१ जना सक्रिय संक्रमित रहेका छन् । सोमवार दुई हजार २१ जना संक्रमणमुक्त भएका छन् । योसहित हालसम्म दुई लाख ८६ हजार १५ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

यसैबीच, सोमवार कर्णाली प्रदेशमा पनि ठूलो संख्यामा संक्रमित पुष्टि भएका छन् । प्रदेशमा पाँच सय २७ जनामा संक्रमण पुष्टि भएको हो । एक हजार २३ जनामा गरिएको परीक्षणमा सो संख्यामा संक्रमित भेटिएका हुन् । पाँच सय ८१ जनाको आरटी–पीसीआर गर्दा तीन सय ४७ र चार सय ४२ जनाको रेपीड–एन्टिजेन विधिबाट गरिएको परीक्षणमा एक सय ८० जनामा कोरोना देखिएको छ । सोमवार कर्णालीमा कोरोना संक्रमित पाँच जनाको मृत्यु भएको छ । योसहित प्रदेशमा हालसम्म कोरोनाका कारण ज्यान जानेको संख्या ५९ पुगेको छ ।