कतै पालना, कतै अवज्ञा

निषेधाज्ञाको पहिलो दिन


मंगलवार मध्यरातिदेखि सुर्खेत जिल्लाभर निषेधाज्ञा लागू गरिएको छ । कोरोना भाइरस (कोभिड –१९) को संक्रमण बढ्दै गएपछि कोभिड संकट व्यवस्थापन केन्द्र तथा जिल्ला सुरक्षा समितिले गरेको निर्णयअनुसार एक साताका लागि निषेधाज्ञा गरिएको हो । संक्रमणको ‘चेन ब्रेक’ गर्ने उद्देश्यले गरिएको निषेधाज्ञाको पूर्ण पालना भने भएको छैन । वीरेन्द्रनगरलगायतका केही स्थानमा निषेधाज्ञा पालना भए पनि जिल्लाको पूर्वी र पश्चिमी क्षेत्रमा अवज्ञा गरिएको पाइएको छ । अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन स्थानीय प्रशासनले गरेको अनुरोधको बेवास्ता गरिएको हो ।

निषेधाज्ञाको पहिलो दिन बुधवार वीरेन्द्रनगरमा फाटफूट निजी सवारी साधन गुडेका थिए भने कतिपय पैदल हिँडिरहेको देख्न सकिन्थ्यो । यहाँ निषेधाज्ञामा कडाइ गर्न चोक चोकमा सुरक्षाकर्मीहरू तैनाथ थिए । तर, जिल्लाका अन्य क्षेत्रमा भने निषेधाज्ञाको पालना निकै फिलो थियो । कतिपय ठाउँमा दिनभर बजारहरू खुला थिए भने बैंकिङ्गलगायतका कारोबार भइरहेका थिए । जहाँ सेवाग्राहीको भिड लाग्ने गर्छ ।

वीरेन्द्रनगर बजार तथा बसपार्क क्षेत्रमा बाहिरबाट आउनेहरू अलपत्र परिरहेको देखिन्थ्यो । मंगलगढी र बसपार्क चोकमा यात्रुहरूको संख्या ठूलै थियो । मुख्य बजार क्षेत्रमा नै छिटफुट रूपमा मात्रै हिँड्डूल गरिरहेका भेटिन्थे ।

छिमेकी जिल्ला दैलेख खुला भएका कारण वीरेन्द्रनगर छोडेर जानेहरू चोक–चोकमा यातायातका साधन कुरिरहेका थिए । कालीकोट र जुम्लाबाट समेत सार्वजनिक सवारी साधनहरू बुधवार सुर्खेत भित्रिएका थिए । दैलेखको रानीमत्ता प्रहरी चौकीकाअनुसार कालीकोट र जुम्लाबाट आएका सवारी साधन पहिलो दिन भएकाले सुर्खेत भित्रिन दिइएको हो । प्रहरी सहायक निरीक्षक धनबहादुर नेपालीका अनुसार बुधवार सुर्खेतबाट दैलेखतर्फ जाने सवारी साधनलाई पनि कडाइ गरिएको थिएन । ‘निषेधाज्ञा भएकै जिल्लाबाट सवारी साधन छोडेपछि हामीहरूले यहाँ रोक्ने कुरै भएन,’ उनले भने ।

त्यस्तै, पूर्वी सुर्खेतमा पनि निषेधाज्ञा त्यति प्रभावकारी देखिएको छैन । बजार तथा सार्वजनिक स्थलहरूमा मानिसहरू हिँड्डूल तथा भेटघाट गरिरहेको त्यहाँका स्थानीयले बताएका छन् । लामो यात्रागरी आएकाहरूलाई गन्तव्यसम्म पु¥याउनको लागि प्रहरीले पनि सहयोग गरिरहेको स्थानीयले बताएका छन् । इलाका प्रहरी कार्यालय छिन्चुका प्रहरी निरीक्षक दीपक मल्लका अनुसार बबईबाट छोडिएका सवारी साधनहरूलाई छिन्चुमा रोकिएको थिएन । ‘स्थानीय बजार बन्द छ,’ उनले भने, ‘लामो यात्रा गरी आएकाहरूलाई सुरक्षा मापदण्डसहित गन्तव्यमा पुग्न हामीले भनिरहेका छौं ।’ उनले बुधवार करिब एक दर्जन ठूला सवारी साधनहरू यात्रु बोकेर सुर्खेतको पूर्वी क्षेत्र, जाजरकोट तथा सल्यान र रुकुमतर्फ लागेको बताए ।

यस्तै, इलाका प्रहरी चौकी बावियाचौरका प्रहरी निरीक्षक बखत शाहीले त्यहाँ भने निषेधाज्ञाको पालना भएको बताए । ‘यहाँ सबै घरभित्रै बसेका छन्,’ उनले भने, ‘अनावश्यक काममा हिँड्डूल र सवारी साधन सञ्चालनमा कडाइ गरेका छौं ।’ अत्यावश्यकबाहेक सबै कार्यमा रोक लगाइएको उनको भनाइ छ ।

स्थानीय प्रशासनले बैंक, वित्तीय संस्था, सवारी साधन, पसल व्यवसाय सञ्चालन र अत्यावश्यक काम बाहेकको हिँड्डूलमा रोक लगाएको छ । जनस्वास्थ्यका मापदण्डको पालना गरी दैनिक उपभोग्य खाद्य सामग्री, तरकारी, दुग्ध पदार्थ र ग्यास पसल बिहान तीन घण्टा सञ्चालन गर्न दिइएको छ । यस्ता पसलहरू बिहान ६ देखि नौ बजेसम्म मात्र खोल्न पाइनेछ । निषेधाज्ञाको समयमा स्वास्थ्य, सुरक्षा, विद्युत, सूचना तथा सञ्चार, खानेपानी, औषधि पसल, वित्तीय संस्थाका एटीएम सेवा लगायतका अत्यावश्यक सेवा सञ्चालन हुुने छन् । एम्बुलेन्स, दमकल, शववाहन, झण्डावाला सरकारी तथा निलो प्लेटका सवारी साधनहरू र विकास निर्माणका कामहरू गर्न दिइएको छ ।

पश्चिममा बैंकका शाखा खुला

निषेधाज्ञाका बेला पञ्चपुरी नगरपालिकामा बैंकहरूले सामाजिक सुरक्षा भत्ता वितरण गरेका छन् । नगरमा रहेको राष्ट्रिय वाणिज्य बैंक तथा कुमारी बैंकका शाखाले सामाजिक सुरक्षा भत्ता वितरण गरेका हुन् । त्यहाँस्थित पत्रकार अमर कार्कीकाअनुसार बुधवार दिउँसो बैंकहरूले सेवाग्राहीको उपस्थितिमा भत्ता वितरण गरेका थिए । भत्ता लिन वृद्धवृद्धाहरू बैंकका शाखाहरूमा पुगेका हुन् । निषेधाज्ञाको अवधिमा वित्तीय संस्थाहरूले एटीएम बाहेकका सबै सेवा बन्द गर्नुपर्ने भनिए पनि आदेशको अवज्ञा गर्दै बैंकहरूले सेवाग्राहीको भीड लाग्ने गरी भत्ता वितरण गरेका हुन् ।

५६ जना नियन्त्रणमा

सुर्खेत प्रहरीले बुधवार निषेधाज्ञा उल्लंघन गर्ने ५६ जनालाई पक्राउ गरेको छ । जारी निषेधाज्ञाको अवज्ञा गरेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो । केही सवारी साधनसहित ५६ जना नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए । उनका अनुसार पहिलो दिन भएकाले उनीहरूलाई सम्झाइबुझाई गरी छोडिने छ । अटेर गरी संक्रमण फैलाउन मद्दत गरेमा संक्रामक रोग ऐन अनुसार कारबाही गरिने उनले बताए ।आज (बिहीवार) देखि निषेधाज्ञामा थप कडाइ गरिने छ । प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले पहिलो दिन गन्तव्यमा पुग्नेहरू र कतिपयलाई निषेधाज्ञाको जानकारी समेत नभएकाले निषेधाज्ञाको पूर्ण पालना नभएको हो । निषेधाज्ञाको पालना गराउन आजदेखि कडाइ र नियमित अनुगमन समेत गरिने प्रजिअ रिजालले बताए ।