रोल्पामा आन्दोलन चर्किदै
सरकारले ५ नं प्रदेशलाई टुक्र्याउने गरी मंगलबार संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्ताव विरुद्ध रोल्पामा विरोध भएको छ । संशोधन प्रस्ताव दर्ता गराउन सरकारले तयारी गरेदेखि नै रोल्पामा विरोध सुरु भएको थियो । प्रस्ताव दर्ता भएपछि सर्वपक्षीय रुपमा थालिएको विरोध झन चर्किएको छ ।
रोल्पामा उक्त प्रस्तावविरुद्ध यसअघि एक साताभर विरोधका कार्यक्रम सम्पन्न भए । बुधबार सदरमुकाम लिबाङमा युवाहरुले मोटरसाइकल र्याली गरे भने सर्वपक्षीय आयोजनामा कोणसभा समेत आयोजना गरियो । युवाहरुले संसदबाट विधेयक सरकारले फिर्ता नलिँदासम्म आन्दोलन जारी राख्ने बताए । शान्तिपूर्वक मिलेर बसेका जनता र प्रदेशवासीलाई संविधान संशोधनको नाटक अघि सारेर विखण्डित अवस्थामा पुर्याउन खोजिएकोमा सजग हुन सबै नेताहरुले आव्हान समेत गरेका छन् ।
र्यालीपछि सदरमुकामको टुँडिखेलमा आयोजित कोणसभालाई सम्बोधन गर्दै नेताहरुले जनभावना विपरीत सरकारले प्रदेश टुक्र्याएको आरोप लगाए । सरकारले आफ्नो कदम फिर्ता नलिएसम्म आन्दोलन नरोकिने बताए । विगतको सशस्त्र युद्धमा महत्वपूर्ण भूमिकामा रहेको रोल्पाको विकास गर्छौं भन्दै नेताहरुले ढाँटेकोमा स्थानीय आक्रोशित बनेका छन् ।
प्रकाशित मितिः १५ मंसिर २०७३, बुधबार १८:०१
साझा बिसौनी ।