प्रदेशमा पहिलो हुन्छौंः थानी
सुर्खेत, २ चैत । नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएपछि हृदयराम थानीले प्रदेश नम्बर ६ मा कांग्रेसलाई प्रथम बनाउने बताएका छन् । साझा बिसौनीसँगको टेलिफोन सम्पर्कमा पार्टीको आन्तरिक सङ्गठनलाई बलियो र क्रियाशील बनाउने आफ्नो मुख्य लक्ष्य रहेको भन्दै उनले यो प्रदेशमा कांग्रेस देशभरीकै नमुना हुने दाबी गरे । साथै उनले अबका हरेक निर्वाचनमा कांग्रेस यो प्रदेशमा प्रथम हुने गरी आफूले काम गर्ने समेत जानकारी दिए ।
लोकतान्त्रिक पार्टीको आन्तरिक प्रतिस्पर्धामा कोही पराजित र कोही विजयी हुनु स्वभाविक भन्दै उनले भने, ‘आन्तरिक प्रतिस्पर्धामा केही साथीहरू छुट्नु भएको छ, म उहाँहरूलाई पनि साथमा लिएर अगाडि बढ्ने छु । सबै साथीहरूको एकता र सहकार्यमा पार्टीलाई बलियो बनाउने गरी मेरो भूमिका रहनेछ ।’ अबको आफ्नो प्रमुख योजना यो प्रदेशमा कांग्रेसलाई थप गतिशील बनाउने र संसदीय, स्थानीय र प्रादेशिक निर्वाचनमा पहिलो पार्टीका रूपमा स्थापित गर्ने रहेको समेत उनले जानकारी दिए ।
यस्तै उनले सुर्खेतलाई प्रादेशिक राजधानी बनाउनका लागि पार्टीभित्र र बाहिर सङ्घर्ष गर्ने उनको भनाइ छ । यो प्रदेश अभावमा रहेको भए पनि पर्याप्त सम्भावनाहरू रहेको भन्दै उनले यो प्रदेशको समृद्धिका लागि सबैसँग सहकार्य गर्ने उल्लेख गरे र जिल्लाको विकास र समृद्धिका लागि अन्य दलहरूसँग साझा अवधारणा बनाएर अगाडि बढ्नका लागि आफूले पहल थाल्ने समेत उनले जानकारी दिए । जिल्लामा सहकार्य र एकताको राजनीतिक संस्कार स्थापित गराउनका लागि आफूले प्रयास गर्ने समेत थानीको भनाइ छ ।
साझा बिसौनी संवाददाता ।