दलको कलहले खोसिँदै सांसद पद
कर्णाली प्रदेशसभा सदस्यको संख्या अब ३५ जना कायम हुने
नेकपा एमालेभित्रको विवाद उत्कर्षमा पुगेपछि जननिर्वाचित सांसदहरूको पद धरापमा परेको छ । एमालेको गुटगत लडाइँले सांसदहरूको पद धमाधम खोसिन थालेको हो । यसअघि नेकपामा देखिएको विवाद एमाले र माओवादी केन्द्र ब्युँतिएपछि पनि यिनै दलमा सरेको छ । पार्टीको आन्तरिक कलहकै कारण कर्णाली प्रदेशसभा सदस्यको संख्या समेत घट्ने भएको छ । ४० सदस्यीय प्रदेशसभामा पाँच जना सदस्य पदबाट मुक्त हुने भएका हुन् ।
दलको निर्देशन विपरीत फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने एमालेका चार जना प्रदेशसभा सदस्यलाई पार्टीको साधारण सदस्य नै नरहने गरी सांसद पद खोसिएको हो । शुक्रवार बसेको एमाले महाधिवेशन आयोजक कमिटी बैठकले चार जना प्रदेशसभा सदस्यलाई पार्टीको सदस्य समेत नरहने गरी कारबाही गरिएको जनाएको छ । दलको ह्वीप उल्लघंन गर्ने प्रदेशसभा सदस्य प्रकाश ज्वाला, कुर्मराज शाही, अमरबहादुर थापा र नन्दसिंह बुढाको सांसद पद खोसिने भएको हो । उनीहरूले माओवादी केन्द्रको सरकारलाई विश्वासको मत दिएका थिए । एमालेले एकल सरकार बनाउने कसरत गरेर माओवादी नेतृत्वको सरकारबाट समर्थन फिर्ता लिएको अवस्थामा एमाले सांसदले दलको निर्देशन विपरीत मुख्यमन्त्री शाहीलाई मतदान गरेका हुन् ।
वैशाख ३ गते मुख्यमन्त्री शाहीले संसद्मा विश्वासको मत माग्दा फ्लोर क्रस गरेर मत दिएपछि एमाले प्रदेश कमिटीले ती सांसदहरूलाई कारबाही गर्ने निर्णय गरेको थियो । सोही निर्णयलाई पार्टी केन्द्रीय कमिटीले अनुमोदन गरेको हो । उनीहरूलाई पार्टीबाट निष्काशित गरिएको पत्र १३ गते संसद् सचिवालयमा पठाइने एमालेले जनाएको छ । संसद् सचिवालयले उनीहरूले दल त्याग गरेको पार्टीको पत्रका आधारमा सांसद नरहेको सूचना टाँस गरेपछि पदमुक्त हुने व्यवस्था छ ।
यस्तै, माओवादी केन्द्रबाट निर्वाचित प्रदेशसभा सदस्य धर्मराज रेग्मी यसअघि नै पदमुक्त भइसकेका छन् । उनी एमालेमा गएको भन्दै माओवादी केन्द्रले कारबाही गरी पदमुक्त गरेको हो । योसँगै प्रदेशसभाका पाँच जना सदस्य पदमुक्त भएका हुन् । वैशाख १३ गते पछि कर्णालीमा एमालेका सभामुखसहित १६ जना प्रदेशसभा सदस्य रहनेछन् । यसअघि एमालेका सभामुखसहित २० जना प्रदेशसभा सदस्य थिए । कर्णाली प्रदेशसभामा एमालेका १६, माओवादी केन्द्रका १२, कांग्रेसका ६ र राप्रपाका एक जना प्रदेशसभा सदस्य कायम हुने भएका हुन् ।
एमालेका चार जना सांसदलाई यसअघि एमाले संसदीय दल कर्णाली प्रदेशले सांसद पद र पार्टीको साधारण सदस्यबाट हटाउने गरी प्रदेश र केन्द्र कमिटीमा सिफारिस गरेको थियो । त्यस लगत्तै तीमध्ये तीन जनालाई मुख्यमन्त्री शाहीले मन्त्री बनाएका थिए । फ्लोर क्रस गरेर शाही सरकार जोगाइदिनेहरू मन्त्री बनेका हुन् । एमालेबाट निर्वाचित प्रदेशसभा सदस्य नन्दसिंह बुढा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री, अमरबहादुर थापा भौतिक पूर्वाधार विकासमन्त्री र कुर्मराज शाही भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री भएका छन् ।
एमाले प्रदेश कमिटीले तीनै जनालाई पार्टीको कुनै पनि जिम्मेवारीमा नरहने गरी हटाएको थियो भने प्रकाश ज्वाला महाधिवेशन कमिटी सदस्य रहेकाले उनलाई कारबाहीका लागि केन्द्रमा सिफारिस गरिएको थियो । फ्लोर क्रस गर्ने चार जना प्रदेशसभा सदस्यलाई केन्द्रीय कमिटीले समेत स्पष्टीकरण मागेको थियो । मुख्यमन्त्री शाहीलाई विश्वासको मतको लागि २० जना सांसद आवश्यक थियो । एमालेका चार सांसदले फ्लोर क्रस गरेपछि उनले प्रदेशसभाबाट विश्वासको मत पाएका थिए । मुख्यमन्त्री शाहीको पार्टी माओवादी केन्द्रका १२, नेपाली कांग्रेसका ६ र एमालेका चारसहित २२ जना सांसदको मत पाएपछि उनको पद जोगिएको थियो ।
वलीलाई थप स्पष्टीकरण सोधिने
मुख्यमन्त्री शाहीलाई एमालेकी प्रदेशसभा सदस्य देवी वलीले पनि विश्वासको मत दिएकी थिइन् । तर उनले केही बेरमै मत सच्चाएर विश्वासको विपक्षमा मतदान गरेकी हुन् । आफू झुक्किएर विश्वासको पक्षको लाइनमा लागेको र थाहा पाउने बित्तिकै पार्टीको ह्वीप अनुसार विपक्षमा मतदान गरेको स्पष्टीकरण दिएकी थिइन् । तर उक्त स्पष्टीकरण चित्त बुझ्दो नभएको भन्दै एमालेले फेरि स्पष्टीकरण सोध्ने भएको हो । वली एमाले नेपाल समूहकी प्रदेशसभा सदस्य हुन् ।
उनलाई विश्वासको मतमा बहुुमत पुगिसकेपछि पद जोगाउन मत सच्याएको आरोप छ । एमाले संसदीय दल कर्णाली प्रदेशका प्रमुुख सचेतक गुलाबजंग शाहले वलीले नेपाल समूहका नेताको योजनामै फ्लोर क्रस गरेको र पछि पद जोगाउन बहाना बनाएको बताए । ‘उहाँले दिएको स्पष्टीकरणका बारेमा बैठकमा छलफल हुँदा चित्त बुझ्दो भएन । पुनः थप स्पष्टीकरण सोधिएको छ,’ शाहले भने । सांसद वलीले भूलवश फ्लोर क्रस गरेपछि सच्याएको र आगामी दिनमा पार्टीको निर्णय विपरीत नजाने जवाफ पेस गरेकी थिइन् । वलीसहित स्पष्टीकरण सोधिएका प्रदेशका पाँच सांसदले बिहीवार जवाफ पेस गरेका थिए ।
प्रदेशसभाको बैठक सोमवार
शुक्रवार बस्ने भनिएको प्रदेशसभाको बैठक १३ गतेसम्मका लागि स्थगित भएको छ । शुक्रवार दिउँसो २ बजेका लागि बोलाइएको बैठक स्थगित भएको हो । प्राविधिक कारणले बैठक स्थगित भएको प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेशसभा सचिवालयका सचिव जीवराज बुुढाथोकीले १३ गते सोमवार दिउँसो २ बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी दिए ।
प्रकाशित मितिः ११ बैशाख २०७८, शनिबार १०:५५
साझा बिसौनी ।