कोरोनाको दोस्रो लहर

पर्याप्त छैन पूर्वतयारी

कोरोनाको दोस्रो लहर


दोस्रो लहरको कोरोना भाइरस ‐कोभिड–१९) संक्रमण फैलिएको अनुमान गरिएका बेला कर्णाली प्रदेशमा परीक्षणको दायरा भने बढाइएको छैन । प्रदेशमा परीक्षण दर कम हुँदा पनि दैनिक नयाँ संक्रमित थपिने गरेका छन् । हाल लक्षण भएका संक्रमितको मात्र कोरोना परीक्षण हुँदै आएको छ । पछिल्ला महिनाहरूमा संक्रमितको ‘कन्ट्याक्ट ट्रेसिङ’ समेत गर्न छोडिएको छ ।

सरकारले अहिले ‘कन्ट्याक्ट ट्रेसिङ’को काम पालिकाहरूलाई दिएको छ । पालिकाहरूमा जनशक्ति र स्रोत–साधन नहँुदा प्रभावकारी रूपमा संक्रमितको पहिचान हुन सकेको छैन । सीमा नाका र भिडभाड हुने सार्वजनिक स्थलहरूमा निगरानी बढाइएको छैन । जसले गर्दा संक्रमण फैलने जोखिम उच्च रहेको जनस्वास्थ्य विज्ञहरूले बताएका छन् । प्रदेश सरकारले संक्रमण नियन्त्रणका लागि तयारी अवस्थामा रहेको जनाए पनि पूर्वतयारीका काम पर्याप्त नभएको स्वास्थ्यकर्मीहरू नै बताउँछन् ।

कर्णालीमा कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि रोकथाम र उपचारका लागि आवश्यक तयारीलाई तीव्रता दिइएको जनाइएको छ । सोमवार बसेको प्रादेशिक स्वास्थ्य आपतकालीन निर्देशन समितिले प्रदेशमा रहेका कोभिड अस्पताल र जिल्लास्थित सबै अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन गरेको छ । संक्रमितको संख्या बढ्न सक्ने भन्दै तयारी अवस्थामा रहन अस्पतालहरूलाई निर्देशन दिइएको हो ।

कोरोना अस्पताल तोकिएका प्रदेश अस्पताल सुर्खेत, जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र रुकुम–पश्चिमको चौरजहारी सामुदायिक अस्पतालका साथै अन्य जिल्ला अस्पताललाई उपचारका लागि तयारी अवस्थामा रहन भनिएको हो । सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कंडेलले निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा संक्रमितको उपचारमा आवश्यक व्यवस्थापनका लागि प्रदेश सरकारसँग अनुरोध गरिएको बताए ।

पछिल्लो समय भारतबाट समेत आउनेको संख्या बढ्दै गएकाले कोरोना संक्रमणको जोखिम उच्च रहेको बैठकको निष्कर्ष छ । जनस्वास्थ्यका मापदण्ड पालना गर्न जनचेतनामूलक कार्यक्रम गर्ने, यातायातका साधन प्रयोग गर्दा वा हिँड्डूल गर्दा अनिवार्य मास्क लगाउन अनुुरोध गर्ने र यसको व्यवस्थापनका लागि प्रमुुख जिल्ला अधिकारीलाई अनुरोध गर्ने निर्णय भएको कंडेलले जनाए ।

बैठकमा प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा. रबिन खड्काले तत्तकालका लागि प्रदेश अस्पताल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा दुई÷दुई सय र जिल्ला अस्पतालहरूमा २५ बेडको आइसोलेसन तयारी अवस्था राखिने बताए । उनकाअनुसार अहिले प्रदेशमा स्वास्थ्य सामग्रीको प्रबन्ध मिलाउने काम समेत भइरहेको छ । एक लाख सर्जिकल मास्क, दुई हजार पीपी सेट, सात हजार पाँच सय पीसीआर किट र सोही संख्यामा एन्जिेन किट स्टक रहेको खड्काले बताए ।

प्रदेशभरका अस्पतालहरूमा गरी हाल ३४ वटा भेन्टीलेटर र ६२ वटा आईसीयू बेड छन् । हालसम्म करिब एक लाख जनाको पीसीआर परीक्षण गरिएको छ । त्यसमध्ये सात हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णालीमा सोमवारसम्म सक्रिय संक्रमितको संख्या एक सय ५० रहेको निर्देशनालयले जनाएको छ । सोमवार रुकुम–पश्चिममा एक जनाको मृत्युु भएसँगै कर्णालीमा कोरोना संक्रमणका कारण मृत्युु हुनेको संख्या ३३ पुुगेको छ । रुकुम–पश्चिममा कोरोना संक्रमणका कारण मृत्युभएकी महिला केही दिन अघि मात्रै भारतबाट आएकी थिइन् ।

यस्तै सामान्य लक्षण नभएका संक्रमितलाई स्थानीय तहमै उपचार गरिने भएको छ । बैठकले नाकामा प्रवेश गर्ने व्यक्तिहरूलाई स्थानीय तहसम्म लैजाने र लक्षण नभएका संक्रमितहरूको स्थानीय तहमा उपचारको व्यवस्था मिलाउन अनुरोध गर्ने निर्णय गरेको हो । नाकाबाट स्थानीय तह तथा अस्पतालसम्म ल्याउने व्यवस्थापनका लागि आगामी बैठकमा निर्णय गर्ने तयारी गरिएको छ । प्रादेशिक स्वास्थ्य आपतकालीन निर्देशन समितिले कोरोना रोकथाम, उपचार र व्यवस्थापनमा खटिएका स्वास्थ्यकर्मीहरूलाई जोखिम भत्ता उपलब्ध गराउन सरकारलाई अनुरोध गर्ने निर्णय समेत गरेको छ ।


विद्यार्थीसहित ५० जनामा संक्रमण

वीरेन्द्रनगरका पाँच जना विद्यार्थीसहित ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ७५ जनामा गरिएको परीक्षणमा सो संख्यामा संक्रमित भएका हुन् । वीरेन्द्रनगरका केही विद्यालय र मध्यपश्चिमाञ्चल विश्वविद्यालयका गरी पाँच जना विद्यार्थीहरूमा संक्रमण देखिएको जनस्वास्थ्य सेवा कार्यालयले जनाएको छ । कार्यालय प्रमुख चेतननिधी वाग्लेकाअनुसार सोमवार पुष्टि भएका ५० जना संक्रमित सबै सुर्खेतका हुन् ।

वाग्लेले कोरोनाको जोखिम बढेको भन्दै आम नागरिकलाई सचेत हुन आग्रह गरे । आवश्यक कामबाहेक घरभित्रै बस्ने, निस्कनै परे मास्क र सेनिटाइजरको प्रयोग गर्ने र साबुन पानीले नियमित हात धुन उनले सुझाए ।

केही दिनयता वीरेन्द्रनगर क्षेत्रका विद्यालयका शिक्षक तथा विद्यार्थीहरूमा कोरोना संक्रमण देखिन थालेको छ । विद्यालयमा पनि कोरोनाको जोखिम बढेको हो । वीरेन्द्रनगरस्थित अमरज्योति नमुुना माध्यमिक विद्यालयमा विद्यार्थी र शिक्षकमा कोरोना संक्रमण देखिएपछि सोमवारदेखि एक हप्ता पठनपाठन बन्द गरिएको छ । प्रधानाध्यापक खगेन्द्र थापाले दुई जना शिक्षक र विद्यार्थीहरूमा कोरोना संक्रमण पुष्टि भएको बताए ।

पूर्वनिर्धारित परीक्षा नरोकिने

कोरोना महामारी रोकथामका लागि सरकारले ४० स्थानीय तहका विद्यालय बन्द गरे पनि विद्यालय र कलेजका पूर्व निर्धारित परीक्षा भने नरोकिने भएको छ । विद्यालय र कलेजका पूर्व निर्धारित परीक्षा पनि नरोकिने सरकारले जनाएको हो । त्यस्तै चिकित्सा शिक्षाका सबै किसिमका प्रयोगात्मक परीक्षाहरू पनि जनस्वास्थ्यका मापदण्ड पालना गरी सञ्चालन हुने बताइएको छ ।

वैशाखभर विद्यालय बन्द

सरकारले वीरेन्द्रनगरसहित अन्य सहरमा विद्यालय बन्द गर्ने निर्णय समेत गरेको छ । कोरोना जोखिमको मध्यनजर गर्दै सरकारले यस्तो निर्णय गरेको हो । सुुर्खेतलाई पनि कोरोना संक्रमणको उच्च जोखिम जिल्लाका रूपमा राखिएको छ । संक्रमणका हिसाबले अति प्रभावित सहरी क्षेत्रमा रहेका विद्यालयको पठनपाठन वैशाखभर बन्द गर्ने सोमवारको मन्त्रिपरिषद् वैठकले निर्णय गरेको छ । सरकारले वैशाख मसान्तसम्म विद्यालय बन्द गरी अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही दिन पहिले नै सहरी क्षेत्रका विद्यालय बन्द गर्न प्रस्ताव गरेको थियो । तर, मन्त्रिपरिषद्ले निर्णय नगरेपछि मन्त्रालयले सुर्खेतसहित १४ जिल्लालाई अति प्रभावित क्षेत्रमा राख्दै बालबालिकालाई विद्यालय नपठाउन अपील गरेको थियो । सरकारले विद्यालयका साथै सिनेमा हल, पार्टी प्यालेस, रंगशाला लगायतका भीडभाड हुने क्षेत्र पनि बन्द गरिने जनाएको छ ।

यस्तै, सरकारले सार्वजनिक स्थानमा पाँच जनाभन्दा बढी भेला हुन रोक लगाएको छ । मन्त्रिपरिषद् बैठकले जारी गरेको ‘नयाँ भेरियन्टसहितको कोरोना महामारी नियन्त्रण रोकथाम आदेश’मा सार्वजनिक स्थानमा पाँच जनाभन्दा बढी भेला हुन नपाउने उल्लेख छ । वैशाखभर विवाह, व्रतबन्ध, मलामीजस्ता कार्यमा २५ जनाभन्दा बढी सहभागी हुन पनि रोक लगाएको छ ।

प्रकाशित मितिः   ७ बैशाख २०७८, मंगलवार ०६:००