थपिए तीन मन्त्री
कर्णाली प्रदेशमा मन्त्रीमण्डल पुनर्गठन गरिएको छ । नवनियुक्त तीन जना मन्त्रीहरूले आइतवार सपथ लिएका छन् । मुुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत पाएपछि शनिवार मन्त्रीमण्डल विस्तार गरिएको हो ।
दलको ह्वीप विपरीत फ्लोर क्रस गरेर एमाले माधव नेपाल पक्षका चार जना प्रदेशसभा सदस्यले मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएका थिए । उनै चार जनामध्ये तीन जनालाई शाहीले आफ्नो सरकारमा मन्त्री बनाएका हुन् । ती मन्त्रीलाई प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले आइतवार सपथ ग्रहण गराएका छन् ।
उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीमा नन्दसिंह बुढा, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीमा कुर्मराज शाही र भौतिक पूर्वाधार विकासमन्त्रीमा अमरबहादुर थापाले पद तथा गोपनियताको सपथ लिएका हुन् । बुढा यसअघि पनि सोही मन्त्रालयमा थिए । उनको पार्टी एमालेले माओवादी केन्द्रको सरकारबाट समर्थन फिर्ता लिएपछि उनले केही दिन पहिले मन्त्रीबाट राजीनामा दिएका थिए । शाही र थापा भने पहिलो पटक मन्त्री बनेका हुन् ।
एमालेले गएको चैत ५ गतेदेखि माओवादी नेतृवलाई दिएको समर्थन फिर्ता लिएको थियो । मन्त्रीको जिम्मेवारी पाएका तीनै जनालाई एमाले कर्णाली प्रदेश कमिटीले शनिवार नै पार्टीको सदस्य समेत नरहने गरी कारबाही गरिसकेको छ । निर्वाचित भएको दलले कारबाही गरिसकेकाले उनीहरू अब सांसद रहने छैनन् । संवैधानिक व्यवस्थाअनुसार यी तीनै जना ६ महिना मात्र मन्त्री बन्न पाउने छन् ।
यसैबीच आर्थिक मामिला तथा योजना र सामाजिक विकास मन्त्रालयको जिम्मा विमला केसीलाई दिइएको छ । यसअघि उनी भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री थिइन् । आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मा भने नरेश भण्डारीलाई नै दिइएको छ ।
यसैगरी नेपाली कांग्रेसलाई पनि सरकारमा सहभागी गराउनेबारे छलफल भइरहेको छ । कांग्रेसले मुख्यमन्त्री शाहीको पक्षमा मतदान गर्दै सरकारलाई समर्थन गरेको थियो ।
प्रकाशित मितिः ६ बैशाख २०७८, सोमबार ०६:०१
साझा बिसौनी ।