सम्पर्क कमिटीले पायो पूर्णता

सुर्खेत: नेकपा (एमाले) को दैलेख–सुर्खेत सम्पर्क कमिटीले पूर्णता पाएको छ । गत चैत २८ गते वीरेन्द्रनगरमा सम्पन्न भेलामार्फत वीरबहादुर रावतको संयोजकत्वमा गठन गरिएको कमिटीको शनिवार बसेको पहिलो बैठकबाट पदाधिकारी र विभागीय जिम्मेवारी तोकिएको हो ।

सम्पर्क कमिटीको अध्यक्षमा वीरबहादुर रावत, उपाध्यक्षमा दिनेश दाहाल, सचिवमा टीकाराम न्यौपाने, कोषाध्यक्षमा सीता सिंह ठकुरी र सहसचिवमा हिमप्रसाद रेग्मीलाई जिम्मेवारी दिइएको छ । यसैगरी सम्पर्क कमिटीको शिक्षा तथा सञ्चार विभाग प्रमुखमा दीपेन्द्र ओली, उद्योग कृषि तथा आर्थिक विभाग प्रमुखमा ध्रुव शाही, युवा तथा विद्यार्थी विभाग प्रमुखमा नरबहादुर कठायत, स्वास्थ्य तथा वुद्धिजिवी विभाग प्रमुखमा मंगल शर्मालाई चयन गरिएको छ ।

यस्तै, कमिटीको यातायात पर्यटन तथा निर्माण विभाग प्रमुखमा अम्बबहादुर खड्का, खुद्रा खाद्य तथा होटल विभाग प्रमुखमा सुरेन्द्र अधिकारी चयन भएका छन् । विभागीय प्रमुखको जिम्मेवारी पाएकाहरूले विभागीय सचिवसहित बढीमा २९ सदस्यीय विभागलाई पूर्णता दिनुपर्ने निर्णय गरिएको शिक्षा तथा सञ्चार विभाग प्रमुख ओलीले जानकारी दिए ।

साथै एमाले दैलेख सुर्खेत सम्पर्क कमिटीले कर्णाली प्रदेशसभामा पार्टीको ह्वीप उल्लंघन गर्ने सांसदहरूलाई हदैसम्मको कारबाही गर्न पार्टीका माथिल्लो कमिटीलाई आग्रह समेत गरेको छ ।

प्रकाशित मितिः   ५ बैशाख २०७८, आईतवार १४:२३