एमालेका तीन सांसद पार्टीबाट निष्कासित
अम्मरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाहीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी एमालेले कारबाही गरेको छ ।
संसदीय दलको ह्वीप उल्लंघन गरी संसद्मा माओवादी सरकारको पक्षमा मतदान गर्ने तीन जना सांसदलाई एमालेले पार्टीबाट निष्कासित गरेको छ । कर्णाली प्रदेश कमिटीको शनिवारको बैठकले शुक्रवारदेखि नै लागू हुने गरी उनीहरूलाई पार्टी कमिटीका सबै जिम्मेवारीबाट निष्कासन गरेको हो ।
फ्लोर क्रस गरेर मुख्यमन्त्री शाहीको पक्षमा मतदान गर्ने सांसदहरूलाई कारबाहीको निर्णय गरिएको एमालेका कर्णाली प्रदेश कमिटी अध्यक्ष गोरखबहादुर बोगटीले बताए । ‘फ्लोर क्रस’ गर्ने चार जनामध्ये अम्मरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाहीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी एमालेले कारबाही गरेको छ । अध्यक्ष बोगटीकाअनुसार अर्का सांसद प्रकाश ज्वालालाई पनि पार्टीबाट निष्कासन गर्न केन्द्रलाई सिफारिस गरिएको छ । तीन जना प्रदेश कमिटी मातहतको कमिटीमा रहेकाले प्रदेशले नै कारबाही गरेको र एक जना राष्ट्रिय महाधिवेशन आयोजक कमिटी सदस्य भएकाले कारबाहीको लागि केन्द्रमा सिफारिस गरिएको जनाइएको छ ।
एमाले कर्णाली प्रदेश कमिटीले शनिवार तीन जना सांसदलाई कारबाही गरिएको प्रेश वक्तव्य नै जारी गरेको छ । मुख्यमन्त्री शाहीको पक्षमा मतदान गर्ने एमालेका सांसदले जघन्य अपराधपूर्ण काम गरेको जारी प्रेस–वक्तव्यमा उल्लेख छ ।
वक्तव्यमा भनिएको छ, ‘निजहरूलाई प्रदेशसभा सदस्य र पार्टीको कर्णाली प्रदेश कमिटी सदस्यबाट समेत निष्कासन गर्न भनी आएको सिफारिसलाई आधार बनाई शुक्रवारदेखि लागू हुने गरी पार्टी सदस्यसहित पार्टी कमिटिका सबै जिम्मेवारीबाट निष्कासन गरिएको छ ।’ यस्तै, नेकपा एमाले राष्ट्रिय महाधिवेशन आयोजक कमिटी सदस्य समेत रहेका प्रकाश ज्वालालाई पार्टी सदस्यसमेत नरहने गरी निष्कासन गर्न पार्टी केन्द्रमा सिफारिस गरिएको वक्तव्यमा उल्लेख छ । यीनै चार जना एमाले माधव नेपाल समूहका सांसदले ‘फ्लोर क्रस’ गरेर माओवादी सरकारको पक्षमा मतदान गरेपछि मुख्यमन्त्री शाहीको पद जोगिएको थियो ।
प्रकाशित मितिः ५ बैशाख २०७८, आईतवार ०६:००
साझा बिसौनी ।