शाही सरकारकै निरन्तरता

एक महिनादेखि अल्पमतमा रहेको मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारले विश्वासको मत पाएको छ । मुख्यमन्त्री शाहीले शुक्रवार प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका हुन् । उनले आफ्नो दल ‐माओवादी केन्द्र) का १२, नेपाली कांग्रेसका ६ र एमालेका चारसहित २२ जना सांसदको मत पाएका छन् । शाहीको पद जोगिएको छ । उनलाई विश्वासको मतको लागि २० सांसद आवश्यक थियो । एमालेका चार जना सांसदको समर्थनसँगै मुख्यमन्त्री शाहीको पद जोगिएको हो ।

प्रदेशसभामा रहेका एमालेका १९ (सभामुखबाहेक) सांसदमध्ये प्रकाश ज्वाला, अमरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढाले संसदीय दलको ह्वीप उल्लंघन गरेर मुख्यमन्त्री शाहीको पक्षमा मतदान गरेका हुन् । उनीहरू सबै नेकपा एमाले माधव नेपाल समूहका सांसद हुन् । स्पष्ट अल्पमत हुँदाहुँदै मुख्यमन्त्रीले विश्वासको मत लिन खोज्नुलाई रहस्यका रूपमा हेरिएको थियो । ‘फ्लोर क्रस’ गरेर शाहीलाई मतदान गर्ने एमालेका सांसदरूले समेत पार्टीको निर्देशन विपरीत आफूहरू नजाने बताउँदै आएका थिए । यद्यपि माधव नेपाल समूहका सांसदहरूले संसदीय दलको ह्वीप उल्लंघन गर्ने आकलन भने गरिएको थियो ।

एमालेका केही सांसदको समर्थन पाएपछि शाहीको विपक्षमा १५ मत परेको छ । संसद्मा ३७ जना सांसद उपस्थित रहेका थिए । मत विभाजनको आधारमा गरिएको मतदानमा २२ जना विश्वासको मतको पक्षमा उभिएका थिए । राप्रपाकी सांसद सोशिला शाहीले भने तटस्थ बस्ने निर्णय लिएकी थिइन् । शाही सरकारले विश्वासको मत प्राप्त गरेको प्रदेशसभाका सभामुख राजबहादुर शाहीले घोषणा गरेका थिए । विश्वासको मत आर्जन गरेपछि मुख्यमन्त्री शाहीको सरकार तत्कालको लागि जोगिएको छ । एमालेले गत चैत ५ गतेदेखिदेखि लागू हुनेगरी शाही नेतृत्वको माओवादी केन्द्रको सरकारबाट समर्थन फिर्ता लिएको थियो । एमालेले समर्थन फिर्ता लिएपछि शाहीले विश्वासको मत मागेका थिए ।

एमालेका प्रमुख सचेतक गुलावजंग शाहले ह्वीप उल्लंघन गर्ने सांसदहरूलाई दलले कारबाही गर्ने निर्णय गरिसकिएको बताए । उनकाअनुसार दलले ती सांसदहरूलाई पदमुक्त गर्ने छ । प्रमुख सचेतक शाहले सांसद देवी वलीलाई समेत स्पष्टिकरण माग्ने निर्णय गरिएको जनाए । उनले सुरूमा मुख्यमन्त्री शाहीको पक्षमा मतदान गरेकी थिइन् । पछि शाहीको विपक्षमा मतदान गरेकी हुन् । विश्वासको मतको पक्षमा दिएको मत सभामुखले निर्धारण गरेको समयमा उनले सच्याएकी हुन् । शुक्रवार बिहान बसेको एमाले दलको बैठकले विश्वासको मतको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको थियो ।

विश्वासको मत पाएपछि मुख्यमन्त्री शाहीले देशको राजनीतिक स्थिति फेरिएको बताए । कर्णाली सरकार बहुमतमै रहेको पुष्टि भएको भन्दै उनले सरकारले देखेको कर्णाली समृद्धिको सपनालाई निरन्तरता दिने बताए ।


यी हुन् फ्लोर क्रस गर्ने सांसद

नेकपा एमाले कर्णाली प्रदेशका चार जना सांसदले दलको ह्वीप विपरीत फ्लोर क्रस गर्दै माओवादी केन्द्रको सरकार जोगाइदिएका छन् । उनीहरूले मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएका हुन् । दलको निर्देशन उल्लंघन गर्दै फ्लोर क्रस गर्ने सांसदहरूमा प्रकाश ज्वाला, अमरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढा छन् । प्रकाश ज्वाला माधव नेपाल समूहका कर्णाली प्रदेशका नेता हुन् । उनी शाही सरकारको आर्थिक मामिला तथा योजना मन्त्री थिए । एमालेले समर्थन फिर्ता लिएपछि केही दिन पहिले मात्र उनीसहित सामाजिक विकास मन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले राजीनामा दिएका थिए । कालीकोटका कुर्मराज शाही र दैलेखका अमरबहादुर थापाले पनि दलको ह्वीप विपरीत मुख्यमन्त्री शाहीलाई मतदान गरेका हुन् । कर्णालीमा नेपाल समूहका ९ जना सांसद छन् ।


चार जनालाई कारबाही हुने

एमाले संसदीय दलका नेता यामलाल कंडलले संसद्मा पार्टीको ह्वीप विपरीत गएका सांसदहरूले राजनीतिक अपराध गरेको सञ्चार माध्यमहरूलाई प्रतिक्रिया दिएका छन् । उनले दलको बैठकमा उनीहरू षड्यन्त्रपूर्वक ढङ्गले सहमतिका साथ बसेको प्रष्ट भएको बताएका छन् । ‘उहाँहरू पार्टीको भएको हुनाले सहभागी बनाएर १ बजेसम्म सर्वसम्मत ढङ्गले निर्णय गरिएको थियो,’ नेता कंडेलले भनेका छन् । उनले फ्लोर क्रस गर्नेहरू अब एमाले नरहेको बताए । ‘प्रक्रिया पु¥याउन बाँकी छ । उहाँहरू एमाले रहनुभएन, प्रक्रिया पु¥याएर कारबाही हुन्छ,’ उनले भने । कंडेलले आफ्नो दलभित्र विश्वासका साथ छलफल गरिएकाले त्यो हदको कदम उठाउने नसोचिएको बताए । प्रतिपक्ष हुँदा पनि सत्तापक्षलाई भोट हाल्ने इतिहासमा नहुने घटना भएको नेता कंडेलको प्रतिक्रिया छ । पार्टी निर्देशन विपरीत जाने सांसदलाई तत्काल कारबाही गर्न सिफारिस गरिएको उनले जनाए ।

प्रकाशित मितिः   ४ बैशाख २०७८, शनिबार ०५:००