कोरोना संक्रमण बढ्दो
४६ जनाको परीक्षण गर्दा २९ जनामा संक्रमण पुष्टि
पछिल्ला केही दिनयता कोरोना भाइरस (कोभिड–१९) संक्रमण बढ्दै गएको पाइएको छ । दोस्रो लहरको संक्रमण फैलने जोखिम रहेको अनुमान गरिएका बेला कर्णालीमा संक्रमण दर पनि बढेको पाइएको हो । प्रदेशमा शुक्रवार २९ जना कोरोना संक्रमित थपिएका छन् । ४६ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार सुर्खेतका २०, दैलेखका चार, कालीकोटका तीन, जाजरकोटका एक र अन्य प्रदेशका एक जनामा कोरोना संक्रमण देखिएको हो ।
योसँगै प्रदेशमा सक्रिय संक्रमितको संख्या ६४ जना पुगेको छ । पछिल्लो तथ्याङ्कअनुसार प्रदेशमा हालसम्म संक्रमितको संख्या सात हजार ६ सय ७३ पुगेको छ । शुक्रवार पाँच जना संक्रमित निको भएसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या सात हजार चार सय ४० रहेको प्रदेश स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । प्रदेशमा अहिलेसम्म कोरोना संक्रमणका कारण ३१ जनाको मृत्यु भएको छ ।
यस्तै, शुक्रवार एकैदिन देशभर आठ सय ३६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा दुई लाख ८२ हजार आठ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ भने संक्रमणमुक्त हुनेको संख्या दुई लाख ७४ हजार आठ सय १२ पुगेको छ । शुक्रवारसम्म देशभर पाँच हजार आठ जना सक्रिय संक्रमित छन् । कोरोना संक्रमणबाट हालसम्म तीन हजार सात जनाको ज्यान गएको छ ।
प्रकाशित मितिः ४ बैशाख २०७८, शनिबार ०५:००
साझा बिसौनी ।